राजनीति

बाढी प्रभावित क्षेत्रकोअवस्था बुझ्न प्रधानमन्त्री शाह स्थलगत निरीक्षणमा

प्रधानमन्त्री बालेन्द्र शाह बाढीबाट प्रभावित नुवाकोटको विदुर र आसपासका क्षेत्रको स्थलगत अवस्था बुझ्न आज बिहान नुवाकोटतर्फ प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाह पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित बिहान ९ः३० बजे काठमाडौँबाट सडकमार्ग हुँदै विदुरतर्फ गएका हुन्। निरीक्षणका क्रममा बाढीबाट पुगेको क्षति, प्रभावित नागरिकको अवस्था तथा राहत र उद्धारको प्रगतिबारे प्रत्यक्ष जानकारी लिने कार्यक्रम छ।

बुधबार रसुवाको भोटेकोसी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रका बस्ती तथा भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएपछि सरकारले उद्धार र राहतलाई तीव्रता दिएको छ। बाढीपछि प्रधानमन्त्री शाहले उच्चस्तरीय बैठक बोलाएर सम्बन्धित निकायलाई प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत परिचालन गर्न निर्देशन दिएका थिए।

प्रधानमन्त्रीको सचिवालयका अनुसार विदुर पुगेपछि शाहले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिनेछन्। साथै राहत वितरण, विस्थापितको व्यवस्थापन, अवरुद्ध सडक तथा अन्य पूर्वाधार सञ्चालन र पुनर्स्थापनाका विषयमा आवश्यक निर्देशन दिने कार्यक्रम छ।

समय सीमाका कारण प्रधानमन्त्री शाहले आज नुवाकोटको विदुर तथा आसपासका प्रमुख प्रभावित क्षेत्रको निरीक्षण गर्ने सचिवालयले जनाएको छ।

प्रकाशित: ११ भाद्र २०८३ १०:३१ बिहीबार