राजनीति

प्रधानमन्त्री भन्छन्: जहीँतहीँ ठगेको छ, त्यसैका पछाडि मान्छे कुदेको देख्दा अचम्म लाग्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले करोडौँ ठगेको व्यक्तिका पछाडि मान्छे कुदेको देख्दा आफूलाई अचम्म लागिरहेको बताएका छन्। शुक्रबार नेकपा एमाले केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। 

प्रधानमन्त्री ओलीले यो अभिव्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र त्यसका सभापति रवि लामिछानेलाई इंगित गरेको सजिलै बुझिन्छ । 

‘अहिले सही बाटो पहिल्याउनु पनि सजिलो छैन, गाह्रो छ। मान्छे लहलहैको पछाडि कसरी कुद्छन् यी नयाँ भन्नेहरूका पछाडि मान्छे कुदेको देख्दा.,’ प्रधानमन्त्री ओलीले भने, ‘करोडौँको ठगी गरेको छ। यो बैंक, त्यो बैंक, उताको बैंक। जहाँतहीँ ठगी गरेको छ।’ 

सात वटा अदालतले छोडेर कारबाही गर्न नमिल्ने, थुनेर कारबाही गर्नुपर्ने भनेको पनि उनले बताए। ‘अदालतले त्यस्तो फैसला गरेको छ। गाली हामीलाई गर्छन्, बैंक ठगी आफू गर्छन्। त्यस्ताका पछि पनि मान्छे कुदिराख्या छन् भनेपछि कस्तो दुनियाँ हो? त्यस्ताका पछि पनि कुदेका छन्,’ प्रधानमन्त्री ओलीले भने। 

प्रकाशित: ६ भाद्र २०८२ १९:५५ शुक्रबार