राजनीति

प्रधानमन्त्रीले भनिन्- निर्वाचन समयमै हुन्छ, युवाले नै देशको बागडोर सम्हाल्नुपर्छ

प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा सम्पन्न हुने स्पष्ट पारेकी छन्।

इलाम क्षेत्र नं- २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको मुख्य म्यान्डेट नै निर्वाचन गराउनु रहेको बताइन्।

उनले कुनै दुविधा नराखी निर्वाचनको तयारी गर्न आग्रह गर्दै भनिन्, ‘हामी निर्वाचन गराउनकै लागि आएका हौं। असामान्य अवस्थामा शान्ति स्थापना र विधिको शासन बहालीमा सफलता मिलेको छ। अबको हाम्रो अर्जुनदृष्टि निर्वाचनमा केन्द्रित छ।’

भेटका क्रममा प्रधानमन्त्री कार्कीले सुहाङ नेम्बाङलाई निर्वाचनको तयारीमा लाग्न आग्रह गर्दै देशको नेतृत्व अब युवा पुस्ताले नै लिनुपर्ने धारणा राखिन्। पुरानो पुस्ताको अनुभव सल्लाहका रूपमा मात्र काम लाग्ने भन्दै उनले ‘ड्राइभिङ सिट’ मा युवा नै आउनुपर्नेमा जोड दिइन्।

प्रधानमन्त्रीले भनिन्, ‘बाँसको कलमले अक्षर लेख्न सिकेकाहरूले स्मार्टफोनसँगै जन्मिएकाहरूमाथि शासन गरेर हुँदैन। युवामा साहस र ऊर्जा हुन्छ, त्यसैले देशको बागडोर अब युवाले नै सम्हाल्नुपर्छ।’

उनले नेम्बाङलाई निर्वाचनको तयारीबारे जिज्ञासा राख्दै अग्रिम शुभकामना समेत दिइन्।

भेटमा नेम्बाङले प्रधानमन्त्रीलाई निर्वाचन सफलताको शुभकामना दिँदै इलाममा बाढीपहिरोका कारण क्षतिग्रस्त राजमार्ग र पुलको पुनः निर्माणमा सरकारको ध्यानाकर्षण गराएका थिए।

जवाफमा प्रधानमन्त्री कार्कीले उक्त विषयमा सरकार गम्भीर रहेको बताइन्। उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले हालै प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरिसकेको र पुनःनिर्माणको कामलाई प्राथमिकतामा राखिएको जानकारी दिइन्।

प्रकाशित: ६ पुस २०८२ १९:१३ आइतबार