राजनीति

प्रधानमन्त्री पत्नी सबिना भन्छिन्- सुरक्षाकर्मीले बोकेको ब्याग उहाँकै निजी हो, मेरो होइन

प्रधानमन्त्री बालेन्द्र साहकी पत्नी सबिना काफ्लेले सामाजिक सञ्जालमा भाइरल बनेको पारिवारिक तस्बिरबारे स्पष्टीकरण दिँदै आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएकी छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी भई चितवनबाट काठमाडौं फर्किने क्रममा खिचिएको तस्बिरलाई लिएर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आलोचना भएपछि उनले यस्तो स्पष्टीकरण दिएकी हुन्।

बुधबार सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै काफ्लेले तस्बिरमा सुरक्षाकर्मीले बोकेको झोला उनको आफ्नै निजी भएको बताइन्। उनले समाचार लेख्नुअघि घटनाको सत्यता बुझ्न सञ्चारमाध्यमहरूलाई आग्रह समेत गरेकी छन्।

रास्वपाको महाधिवेशन बीचमै छोडेर प्रधानमन्त्री साह, पत्नी सबिना काफ्ले र छोरीसहित बुद्ध एअरको उडानबाट काठमाडौँ फर्किएका थिए। सोही क्रममा विमानस्थलमा खिचिएको तस्बिरमा प्रधानमन्त्री साहले छोरी बोकेका छन् भने श्रीमती काफ्लेको हातमा मोबाइल मात्र देखिन्छ।

सुरक्षाकर्मी (पिएसओ) ले झोला बोकेको देखेपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री पत्नीको झोला सुरक्षाकर्मीलाई बोकाएको भन्दै आलोचना सुरु भएको थियो। सोही विषयलाई लिएर काफ्लेले आक्रोश व्यक्त गरेकी छन्।

‘जुन सुरक्षाकर्मीले त्यो ब्याग बोक्नुभएको छ, त्यो ब्याग उहाँको आफ्नै निजी हो,’ उनले लेखेकी छन्, ‘तर यहाँ अनेक शंका र अनेक अड्कलबाजीले मेरो चरित्र हत्या गर्न खोजिएको छ।’

उनले महिलाको चरित्र हत्या गरेर चर्चामा आउने नियोजित मिडियाबाट यस किसिमको समाचार फैलाइएको आरोप समेत लगाएकी छन्।

विगत केही समयदेखि आफूलाई पुराना राजनीतिक पात्रका श्रीमतीहरूसँग दाँजेर टिप्पणी गर्ने गरिएको उल्लेख गर्दै उनले यसअघि मौन रहे पनि यसपटक बोल्न बाध्य भएको बताएकी छन्।

नयाँ नेतृत्व आए पनि समाज र मिडियाको हेर्ने दृष्टिकोण अझै पुरानै रहेको उनको गुनासो छ।

यस विषयलाई प्रेस काउन्सिलमार्फत कानुनी प्रक्रिया वा मुद्दा मामिलामा लैजान सकिने भए पनि आफू आम नागरिकको हैसियतले मात्र प्रस्तुत भएको उनले बताइन्।

‘यो एकदमै सानो कुरा हो र यस्तो सानोतिनो अल्झनमा अल्झिने मेरो समय र प्रतिष्ठा पनि होइन,’ काफ्लेले भनिन्, ‘बस यति हो कि यो सानो कुराले निम्त्याउने मानहानीका मुद्दाहरू हामी सबैले बुझ्न जरुरी छ र सञ्चारकर्मीहरूले यसमा सुधार गर्नुपर्छ।’

प्रकाशित: १० असार २०८३ २१:४१ बुधबार