प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले देशका सबै नागरिक राजनीतिमा लाग्न आवश्यक नभएको बताएकी छन्।
राष्ट्रिय युवा संघले आयोजना गरेको तीज उत्सव तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरेक व्यक्तिको आ-आफ्नो रुचि र क्षेत्र हुने भएकाले सबैले राजनीति नै गर्नुपर्छ भन्ने नरहेको धारणा राखिन्।
‘मलाई धेरै मान्छेहरुले तपाईं किन पोलिटिक्समा नआउनुभएको भनेर प्रश्न गर्छन्,’ उनले भनिन्, ‘मेरो एउटै जवाफ छ, देशमा भएका सबै मान्छेले पोलिटिक्स गरेर हुँदैन। सबैको आ-आफ्नो ठाउँ, रुचि र क्षेत्र हुन्छ।’
उनले समाजमा एकले अर्काको खुट्टा तान्ने, प्रगतिमा ईर्ष्या गर्ने र नकारात्मकता बढेकोमा चिन्ता व्यक्त गरिन्।
शाक्यले नेपाली समाज र विशेषगरी राजनीतिमा यस्ता विकृतिहरूले बढी सार्थकता पाएको जस्तो देखिनु दुःखद भएको बताइन्। ‘समाजको हरेक क्षेत्रमा विद्यमान यस्तो व्यवहार कसैबाट पनि नहोस् भन्ने म हार्दिक अनुरोध गर्न चाहन्छु,’ उनले भने।
उनले नेपालमा अधिकांश मानिसलाई राजनीति नै गर्न मन लाग्ने र राजनीतिक सफलतालाई मात्रै वास्तविक सफलता ठान्ने मानसिकता रहेको सुनाइन्। ‘राजनीतिमा सफल भए सफल भएको, अरु क्षेत्रमा सफल भए सफल भएको होइन कि भन्ने ठान्ने हाम्रो समाज र मानसिकता छ, त्यस्तो होइन,’ उनले प्रस्ट्याइन्।
युवा संघले समाजमा फैलिएका विकृतिविरुद्ध सचेतना फैलाउने उद्देश्यले काम गरिरहेकोमा प्रशंसा गर्दै उनले हरेक उमेरका व्यक्तिले आफ्नो दायित्व र कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिइन्।
प्रकाशित: ९ भाद्र २०८२ १८:५८ सोमबार