प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गर्दै आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा तयारीबारे विस्तृत जानकारी लिएकी छन् ।
निरीक्षणका क्रममा नेपाली सेनाले हालको समग्र सुरक्षा अवस्था, प्रमुख चुनौती तथा आगामी रणनीति र कार्ययोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको थियो। साथै निर्वाचन सुरक्षाका लागि सेना परिचालनको ढाँचा र योजना सम्बन्धी प्रस्तुतीकरणसमेत गरिएको थियो।
प्रधानमन्त्री कार्कीले आन्दोलनपश्चात् गठित वर्तमान सरकारलाई मुलुकमा शान्ति–सुरक्षा बहाल गर्दै यही फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने राष्ट्रिय अभिभारा रहेको उल्लेख गरेकी थिइन । उनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न नेपाली सेनाले पाउने जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरिन ।
प्रधानमन्त्रीले निर्वाचन सुरक्षालाई ध्यानका राख्दै तीन बुँदे निर्देशन दिएकी छन् ।
जनतालाई सुरक्षाको प्रत्याभूति दिने, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्ने तथा सबै राजनीतिक दलका गतिविधिहरू अवरोधरहित रूपमा सञ्चालन हुने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न सेनालाई प्रधानमन्त्रीले निर्देशन दिइन ।
त्यस्तै आगामी निर्वाचनमा एक थोपा पनि रगत नबग्ने र एक जना पनि घाइते नहुने सुनिश्चितता गर्न, विगतका निर्वाचन अनुभव र आसन्न निर्वाचनका विविध पक्षको विश्लेषणका आधारमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सबै सुरक्षा निकायसँग समन्वयात्मक र त्रुटिरहित ढंगले कार्य गर्न सेनालाई आग्रह गरेकी छन्।
जेन-जी आन्दोलनका क्रममा लुटिएका तथा हराएका हातहतियारको खोजी र नियन्त्रणका लागि प्रहरीलगायत सुरक्षा निकायसँग सहकार्य गर्दै स्थिति सामान्य पार्न र फरार अपराधी पक्राउ गर्न कुनै कसर बाँकी नराखी खटिन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देललगायतको उपस्थिति थियो ।
प्रकाशित: १२ मंसिर २०८२ १४:५५ शुक्रबार