राजनीति

वायु सेवा निगमको महाप्रबन्धक नियुक्ति प्रक्रियाबारे प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने प्रक्रियामा भएको प्रगतिबारे जानकारी लिएकी छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री कार्कीले मंगलबार मन्त्रालयका सचिव हरि मैनालीलाई आफ्नो कार्यकक्षमा बोलाएर नियुक्ति प्रक्रियाको पछिल्लो अवस्थाबारे जानकारी लिएकी हुन्।

निगमको नेतृत्व व्यावसायिक र सक्षम व्यक्तिलाई सुम्पनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री कार्कीले गत कात्तिक १४ गते सचिव मैनालीकै संयोजकत्वमा महाप्रबन्धक छनोट तथा सिफारिस समिति गठन गरेकी थिइन्।

उक्त समितिमा उड्डयन क्षेत्रका विज्ञ क्याप्टेन केबी लिम्बू र मन्त्रालयको योजना तथा प्रशासन महाशाखा प्रमुख सहसचिव सदस्य-सचिवका रूपमा रहेका छन्।

भेटका क्रममा सचिव मैनालीले समितिको कार्यविधि तयार पार्ने काम सम्पन्न भएको र केही समय आफू जिल्लाबाहिर रहेकाले प्रक्रियामा केही ढिलाइ भएको स्वीकार गरे।

उनले समितिको पहिलो बैठक आजै (मंगलबार) बस्ने जानकारी प्रधानमन्त्रीलाई गराए।

जवाफमा प्रधानमन्त्री कार्कीले नियुक्ति प्रक्रियामा ढिलासुस्ती नगर्न निर्देशन दिँदै तत्काल खुला प्रतिस्पर्धाका लागि आवेदन आह्वान गर्न सूचना प्रकाशित गर्न निर्देशन दिइन्।

प्रकाशित: २५ कार्तिक २०८२ १६:१० मंगलबार