राजनीति

बढ्यो प्रधानमन्त्रीको व्यस्तता : एक दिनमै आधा दर्जन बैठक निर्वाचन केन्द्रित

फाइल तस्बिर

प्रधानमन्त्री सुशीला कार्कीले समयमा निर्वाचन गराउन सम्बन्धित सरोकारवाल पक्षसँग निरन्तर छलफल थालेकी छन्। पछिल्लो पटक प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपाध्यक्ष विमला घिमिरेसँग उनले परामर्श गरिसकेकी छन्। उनी सोमबार मात्रै दर्जनभन्दा बढी बैठकमा सहभागी भइन्। खासगरी निर्वाचनसँग सम्बन्धित भएर आधा दर्जन बैठकमा सरोकारसँग छलफल गरेकी छन्।

आइतबार प्रदेश मुख्यमन्त्रीहरूसँग भएको छलफलपछि सोमबार सभामुख र राष्ट्रियसभा अध्यक्षहरूसँग प्रधानमन्त्री कार्कीले छलफल गरेकी थिइन्। सोमबार नै उनले सुरक्षा निकायका प्रमुखहरूसँग मात्र छलफल गरेकी छैनन्, मुख्यसचिवसहितका कर्मचारीहरूसँग पनि छलफल गरेकी थिइन्। त्यसैगरी उनले संसद् सचिवालयका कर्मचारीहरूसँग पनि छलफल गरेकी थिइन्। त्यसक्रममा निर्वाचनको वातावरण बनाउन सबै पक्षलाई निर्देशन दिइन्। सोमबार नै सरोकारवाला निकायसँगको छलफलपछि प्रधानमन्त्री कार्कीले कर्मचारीहरूलाई १४ बुँदे निर्देशनसमेत दिएकी थिइन्। त्यसक्रममा उनले सुरक्षा अंग र कर्मचारीहरूलाई स्थायी सरकार भएकाले बढी नै जिम्मेवार बन्न आग्रह गरेकी थिइन्।

‘सरकार पूर्ण रूपमा निर्वाचनमा होमिएको छ। मैले सबैसँग संवाद र परामर्श गरेकी छु। यहाँहरूले पनि त्यसको वातावरण बनाउनुहोस्। सरकार अब कुनै पनि हालतमा पछि हट्दैन,’ कार्कीले सोमबार मुख्यसचिवसहितको बैठकमा भनेकी थिइन्। निर्वाचनको वातावरण बनाउन आफूले निर्वाचन आयोग, सुरक्षा निकाय, राजनीतिक दल र अन्य सरोकारवालाहरूसँग निरन्तर संवाद गरिरहेको बताइन्। ‘निर्वाचनको पूर्वतयारीका लागि आ–आफ्ना जिम्मेवारीका कार्यहरूलाई चुस्तदुरुस्त रूपमा सम्पादन गर्नुहोस्,’ उनले भनिन्।

प्रधानमन्त्री कार्कीले सुरक्षा अंग र निजामती कर्मचारीहरू स्थायी सरकार भएकाले निर्वाचनको वातावरण बनाउन प्रमुख भूमिका हुने बताएकी छन्। ‘स्थायी सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ,’ उनले भनिन्। प्रधानमन्त्री कार्कीले निर्वाचनअघि नै जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको क्षति तथा नोक्सानीको प्रतिवेदन तत्काल तयार गरी पुनर्निर्माणको नीति र कार्ययोजना बनाउन कर्मचारीलाई निर्देशन दिएकी थिइन्। भौतिक संरचना, मेसिनरी औजार तथा उपकरणमा पुगेको क्षतिबाट सेवा प्रवाह अवरुद्ध हुन नदिन तत्काल खरिद वा वैकल्पिक सेवा प्रवाहको व्यवस्था गर्न उनले निर्देशन दिएकी छन्। ‘तपाईंहरू स्थायी सरकार हुनुहुन्छ। आफ्नो ज्ञान, सिप र अनुभवको प्रयोग गरी कर्तव्य र उत्तरदायित्व पालनामा खरो उत्रनुहुनेछ र नयाँ पुस्ताले सुम्पेको समृद्धि, विकास, सुशासन, समानता र भ्रष्टाचारविहीन शासकीय प्रबन्धको ग्यारेन्टी गर्ने जिम्मेवारी पूरा गर्नुहुनेछ भन्ने विश्वास लिएकी छु,’ उनले भनेकी थिइन्।

निजी क्षेत्रको मनोबल वृद्धि गरी औद्योगिक वातावरणमा सुधार गर्न संवाद, सहजीकरण र सहकार्य आवश्यक रहेको बताउँदै उनले नागरिकमा सरकारप्रतिको भरोसा वृद्धि गर्ने एवं निजामती कर्मचारी र सुरक्षाकर्मीहरूमा मनोबल वृद्धि गर्ने उपायहरू अवलम्बन गर्न निर्देशन दिइन्। जेनजी आन्दोलनको मर्म र भावनाबमोजिम भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहका उल्लेख्य सुधार भएको सबै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी मन्त्रालयहरूले ब्लुप्रिन्ट तयार गरी कार्यान्वयन गर्न उनको आग्रह थियो। सबै मन्त्री र प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थितिमा कूटनीतिक मामिलासम्बन्धी छलफल आयोजना आवश्यक रहेको बताउँदै प्रधानमन्त्री कार्कीले सोहीअनुसारको व्यवस्थापन गर्न कर्मचारीहरूलाई निर्देशन दिइन्।

भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावनाबमोजिम भ्रष्टाचार नियन्त्रण सुशासन र प्रभावकारी सेवा प्रवाहका उल्लेख्य सुधार भएको सबै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सबै मन्त्रालयले ब्लुप्रिन्ट तयार गरी कार्यान्वयन गर्न निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवं नतिजामूलक उपयोग गर्न अर्थ मन्त्रालयले जारी गरेको परिपत्रलाई कडाइका साथ पालना गर्न निर्देशन दिएकी छन्।

त्यसैगरी निजी क्षेत्रको मनोबल वृद्धि गरी औद्योगिक वातावरणमा सुधार गर्न आवश्यक संवाद, सहजीकरण र सहकार्य गर्न, आम नागरिकमा सरकारप्रतिको भरोसा वृद्धि गर्ने एवं निजामती कर्मचारी र सुरक्षाकर्मीहरूमा मनोबल वृद्धि गर्ने उपायहरू अवलम्बन गर्न, कर्मचारीहरूको सरुवा–बढुवा प्रणालीलाई व्यवस्थित गरी अनुमानयोग्य, पारदर्शी र न्यायोचित बनाउने योजना बनाउन पनि निर्देशन दिएकी छन्। प्रधानमन्त्री कार्कीले नवनियुक्त मन्त्रीहरू र प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थितिमा कूटनीतिक मामिलासम्बन्धी छलफल आयोजना गर्न पनि निर्देशन दिएकी छन्।

प्रकाशित: १८ कार्तिक २०८२ ०७:२९ मंगलबार