प्रधानमन्त्री बालेन्द्र शाहले बाढीपहिरो प्रभावित नुवाकोटसहितका क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालन गरिएको बताएका छन्।
नुवाकोट पुगेर प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौं फर्किएका प्रधानमन्त्री शाहले प्रभावित नागरिक, जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार र राहतमा खटिएका टोलीसँग प्रत्यक्ष जानकारी लिएको बताएका हुन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रभावित क्षेत्रको अवस्था अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै सरकारको पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत पुर्याउनु रहेको बताएका छन्।
उनका अनुसार उद्धार तथा राहत कार्यका लागि निम्न व्यवस्था गरिएको छ :
१. १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
खोजी तथा उद्धार कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरी १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बलका १ हजार ८४५ जना छन्।
नेपाली सेनाको Joint Operation Committee, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) को Quick Action Team र प्रधानमन्त्री कार्यालयको Rapid Action Team मार्फत निरन्तर समन्वय तथा अनुगमन भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्।
२. एकै दिन ६९ हवाई उडान, ५७३ जनाको उद्धार
हवाई तथा स्थलमार्गबाट उद्धार कार्य जारी छ। प्रधानमन्त्रीका अनुसार बिहीबार ६९ वटा हवाई उडानमार्फत ५७३ जनाको उद्धार गरिएको छ। थप हेलिकोप्टरलाई तयारी अवस्थामा राखिएको छ भने निजी हेलिकोप्टरसमेत सरकारी कमान्ड तथा समन्वय प्रणालीअन्तर्गत परिचालन गरिएको छ।
हवाई उद्धारमा बिरामी, गर्भवती तथा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई प्राथमिकता दिइएको छ।
३. ३ हजार ५०० जनाका लागि अस्थायी आवास
रसुवा, नुवाकोट र धादिङलगायत प्रभावित क्षेत्रमा फसेका नागरिक तथा सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भइरहेको छ। तत्काल बसोबासको व्यवस्था गर्न करिब ३ हजार ५०० जनाका लागि विद्यालय तथा सार्वजनिक एवं सामुदायिक भवनमा अस्थायी आवास तयार गरिएको छ।
४. तीन जिल्लामा साढे २ करोड राहत रकम
प्रभावित नागरिकका लागि तत्काल राहत उपलब्ध गराउन रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ परिचालन गरिएको छ।
चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस, ब्ल्याङ्केटलगायतका राहत सामग्री बोकेर १० ट्रक प्रभावित क्षेत्रमा पठाइएको छ। थप खाद्य तथा गैरखाद्य सामग्री हेलिकोप्टरमार्फत समेत पुर्याउने काम भइरहेको छ।
५. ३० हजार जनालाई पुग्ने रेडक्रसको राहत
प्रभावित क्षेत्रमा अस्थायी राहत शिविर सञ्चालन गरी खाना, खानेपानी तथा आवश्यक आधारभूत सेवा उपलब्ध गराइएको छ। नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा अन्य स्वयंसेवी संस्था पनि उद्धार र राहतमा परिचालित छन्।
नेपाल रेडक्रसले करिब ३० हजार जनालाई पुग्ने राहत सामग्री प्रभावित क्षेत्रमा पठाएको प्रधानमन्त्रीले बताएका छन्।
६. अस्पतालमा सयौँ आपत्कालीन शय्या तयारी अवस्थामा
स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (HEOC) सक्रिय गरिएको छ। वीर अस्पताल, ट्रमा सेन्टर, शिक्षण अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल तथा प्रहरी अस्पताललाई तयारी अवस्थामा राखिएको छ।
वीर अस्पताल र ट्रमा सेन्टरमा १००/१०० तथा पाटन अस्पतालमा ६० आपत्कालीन शय्या तयार गरिएको छ। आवश्यकताअनुसार मेडिकल टोली, औषधि, एम्बुलेन्स तथा रक्तसञ्चार सेवा परिचालन गरिएको छ।
७. घाइतेको निःशुल्क उपचार
विपद्बाट प्रभावित तथा घाइते नागरिकको निःशुल्क उपचार सुनिश्चित गरिएको छ। ट्रमा सेन्टर, वीर अस्पताल, शिक्षण अस्पताललगायतबाट आवश्यक औषधि तथा उपकरणसहित मेडिकल टोली परिचालन गरिएको छ। धुलिखेल अस्पताललगायतका स्वास्थ्य संस्थालाई समेत तयारी अवस्थामा राखिएको छ।
८. तीन स्थानबाट राहत सामग्री वितरण
राहत सामग्रीको आपूर्ति व्यवस्थित गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदामघर, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा सामग्री संकलन गरिएको छ।
त्यहाँबाट आवश्यकता र प्राथमिकताका आधारमा प्रभावित क्षेत्रमा राहत सामग्री पठाउने व्यवस्था गरिएको छ।
९. सञ्चार र उद्धारका अत्यावश्यक उपकरण पठाइँदै
प्रभावित क्षेत्रमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, ब्याट्री, स्वास्थ्य सामग्री, टेन्ट तथा फलाम र ढुंगा काट्ने मेसिनरीलगायतका अत्यावश्यक सामग्री हवाई तथा स्थलमार्गबाट पठाइँदैछ।
विपद् व्यवस्थापनमा प्रयोग हुने फिल्ड अस्पताल सेट (BHISHMA CUBE) समेत त्रिशूलीतर्फ पठाइएको छ।
१०. ७० भन्दा बढी दूरसञ्चार साइट बन्द
बाढीपहिरोबाट नेपाल टेलिकमका ३८ र एनसेलका ३२ गरी कम्तीमा ७० वटा टावर तथा साइट बन्द भएका छन्।
प्राविधिक टोली, जेनेरेटर र ब्याट्री हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्याएर दूरसञ्चार सेवा पुनःस्थापनाको काम भइरहेको प्रधानमन्त्रीले बताएका छन्।
११. प्रभावितलाई निःशुल्क फोन र इन्टरनेट
नेपाल टेलिकमले प्रभावित नागरिकलाई दैनिक २ जीबी डाटा, ५० एसएमएस तथा निःशुल्क भ्वाइस कल सुविधा उपलब्ध गराएको छ। एनसेलले समेत निःशुल्क भ्वाइस, डाटा तथा एसएमएस सुविधा उपलब्ध गराएको प्रधानमन्त्रीले बताएका छन्।
अस्थायी मोबाइल कनेक्टिभिटी तथा मोबाइल चार्जिङ सुविधा विस्तार भइरहेको छ।
१२. सडक, पुल, विद्युत् र खानेपानी पुनः सञ्चालन प्राथमिकतामा
सडक, पुल, खानेपानी, विद्युत् तथा दूरसञ्चारलगायत अत्यावश्यक पूर्वाधार तत्काल पुनःसञ्चालनलाई उच्च प्राथमिकता दिइएको छ।
सम्बन्धित मन्त्रालय, विभाग तथा निकायलाई आवश्यक जनशक्ति, उपकरण र स्रोत परिचालन गरी क्षतिग्रस्त संरचनाको क्षति मूल्यांकन तथा पुनःसञ्चालनको काम तीव्र बनाउन निर्देशन दिइएको छ।
१३. विद्युत् संरचना पुनःस्थापनाको काम तीव्र
नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा OPGW तथा अन्य विद्युत् संरचना पुनःस्थापनाको काम अघि बढाइएको छ। उद्धार तथा राहतमा प्रत्यक्ष सहयोग पुग्ने संरचनालाई प्राथमिकताका साथ पुनःसञ्चालन गरिँदैछ।
१४. प्रभावित क्षेत्रमा इन्धनको अभाव हुन नदिने व्यवस्था
नुवाकोटका भैरवी, सूर्यमती तथा पञ्चकन्या आयल स्टोरमा डिजल २३ हजार लिटर र पेट्रोल ६ हजार लिटर मौज्दात रहेको छ।
थप १५ हजार लिटर डिजल र १५ हजार लिटर पेट्रोल पठाइएको छ। हवाई इन्धन ८ हजार लिटर मौज्दात रहेकोमा थप ९ हजार लिटर पठाइएको प्रधानमन्त्रीले बताएका छन्।
१५. ड्रोनबाट क्षतिको सर्वेक्षण
प्रभावित क्षेत्रको वास्तविक अवस्था तथा क्षतिको विवरण संकलन गर्न ड्रोन सर्वेक्षण र स्थलगत मूल्यांकन भइरहेको छ। फसेका नागरिक, अवरुद्ध सडक तथा पहुँचको अवस्था पहिचान गरी उद्धार तथा राहतलाई थप लक्षित बनाउने प्रयास भइरहेको छ।
१६. नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह
सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै भोटेकोशी तथा त्रिशूली नदीको बहाव, सम्भावित पहिरो तथा अन्य जोखिमको निरन्तर निगरानी भइरहेको छ।
प्रधानमन्त्रीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका जोखिमयुक्त नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान तथा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
१७. तीनै तह र स्वयंसेवी संस्थाबीच समन्वय
उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था, रेडक्रस, स्वयंसेवी संस्था तथा विकास साझेदारबीच निरन्तर समन्वय भइरहेको छ।
सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय तहलाई आवश्यकता पहिचान गरी तत्काल प्रतिकार्य गर्न निर्देशन दिइएको छ।
१८. मृतकका परिवारलाई आर्थिक सहायता
विपद्मा ज्यान गुमाएकाहरूका परिवारलाई प्रचलित कानुनबमोजिम आर्थिक सहायता उपलब्ध गराउने तथा मृतकको पहिचान र शव व्यवस्थापनलाई व्यवस्थित रूपमा अघि बढाइएको प्रधानमन्त्रीले बताएका छन्।
१९. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग परिचालन
विपद्पछिको राहत तथा पुनःस्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग परिचालन भइरहेको छ। भारतबाट राहत सामग्री प्राप्त भएको छ भने अमेरिका, युरोपेली संघ, विश्व स्वास्थ्य संगठन (WHO), अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (IFRC) लगायतका साझेदारसँग आवश्यक सहयोग र समन्वय भइरहेको छ।
निजी क्षेत्र तथा नागरिकस्तरबाट प्राप्त सहयोगलाई समेत एकीकृत रूपमा परिचालन गरिँदैछ।
सरकार : ‘उद्धार र राहत पूरा नभएसम्म मैदानमै रहन्छौँ’
प्रधानमन्त्री शाहले सरकारको सम्पूर्ण ध्यान अहिले नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई तत्काल राहत र सुरक्षित बसोबास तथा क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुनःस्थापनामा केन्द्रित रहेको बताएका छन्।
उनले उद्धार तथा राहतका लागि आवश्यक स्रोत र साधनको कमी हुन नदिने प्रतिबद्धता जनाउँदै विपद्को संकटपूर्ण अवस्थामा सरकार प्रभावित नागरिकसँगै रहेको बताएका छन्।
“उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्,” प्रधानमन्त्री शाहले भनेका छन्।
प्रकाशित: ११ भाद्र २०८३ २०:२० बिहीबार