राजनीति

प्रधानमन्त्री ओली शनिबार चीन जाने, यस्तो छ भ्रमण तालिका

प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने औपचारिक भ्रमणका लागि शनिबार मित्रराष्ट्र जनवादी गणतन्त्र चीन प्रस्थान गर्ने भएका छन्।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा उनी सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन आगामी शनिबार, भदौ १४ गते चीन जान लागेका हुन्।

परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भ्रमण तालिका सार्वजनिक गरेको हो। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुका साथै जापानी आक्रमणविरुद्धको विजयको ८०औं वार्षिकोत्सव समारोहमा पनि सहभागी हुनेछन्।

विज्ञप्तिअनुसार, प्रधानमन्त्री ओलीले तियानजिनमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नेछन्। उनले भदौ १६ गते तियानजिनमा आयोजना हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।

सम्मेलनका क्रममा प्रधानमन्त्रीले सहभागी अन्य विश्व नेताहरूसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ। त्यसैगरी, प्रधानमन्त्री ओलीले बेइजिङमा भदौ १७ गते चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नेछन्।

भ्रमणको अन्तिम दिन भदौ १८ गते, उनले जापानी आक्रमणविरुद्ध चिनियाँ जनताको प्रतिरोध युद्ध र विश्व फासीवादविरोधी युद्धमा विजयको ८०औं वार्षिकोत्सवको अवसरमा बेइजिङमा आयोजना हुने विशेष स्मृति समारोहमा भाग लिनेछन्।

प्रधानमन्त्रीको भ्रमण दलमा उनकी धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसद छविलाल विश्वकर्मा र अन्य उच्च पदस्थ सरकारी अधिकारीहरू रहनेछन्।

प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डल भदौ १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित: ११ भाद्र २०८२ १८:०४ बुधबार