राजनीति

कर्मचारीमाथि खनिए प्रधानमन्त्री: ‘मल ल्याउन नसक्ने तपाईंहरु, गाली हामीले खानुपर्ने ?’

‘गाली नेता र मन्त्रीले खाने, तर मल आपूर्तिको जिम्मा लिएको निकाय चुप लागेर बस्ने ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा देखिएको मल अभावप्रति चर्को असन्तुष्टि व्यक्त गर्दै सम्बन्धित निकायको औचित्यमाथि नै प्रश्न उठाएका छन्।

मंगलबार सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्री ओलीले मल आपूर्तिको जिम्मेवारी लिएका संस्थाका पदाधिकारीहरूलाई प्रश्न गरे, ‘तपाईंहरूको संस्था नै यसका लागि बनेको हो, अनि मलको अभाव छ। तपाईंहरूको संस्थाले के काम गर्‍यो त ?’

किसानले हरेक वर्ष भोग्नुपरेको समस्याप्रति आक्रोशित देखेका प्रधानमन्त्री ओलीले सार्वजनिक वृत्तमा सरकार र राजनीतिक नेतृत्वको आलोचना हुने तर जिम्मेवार निकाय उत्तरदायित्वबाट पन्छिने गरेको भन्दै आपत्ति जनाए।

‘अखबारहरुमा हेर्नुस् त, गाली तपाईंहरुको संस्थाले त खाइराखेको छैन,’ उनले भने, ‘नेताहरुले, पार्टीहरुले, मन्त्रीले गाली खाएका छन्। तर, जिम्मेवार संस्था चुप लागेर बसेको छ।’

उनले अन्य सबै तर्कभन्दा किसानलाई मल उपलब्ध गराउनु प्रमुख प्राथमिकता भएको स्पष्ट पारे। ‘मलाई धेरै कुरा भन्दा पनि मल चाहियो क्या यहाँ,’ प्रधानमन्त्रीले भने, ‘के भएर मल आउँदैन ? मैले प्रधानमन्त्री हुने बित्तिकै आइन्दा मलको आपूर्तिमा कमी नहोस् भनेर स्पष्ट निर्देशन दिएको थिएँ।’

छलफलपछि प्रधानमन्त्री ओलीले मल समस्याको दीर्घकालीन समाधानका लागि तत्काल कार्यान्वयन गर्न ३ बुँदे निर्देशन दिएका छन्।

रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना ल्याउन निर्देशन दिँदै उनले कम्पोष्ट र अर्ग्यानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव गर्न भनेका छन्। 

माटोको उर्वरता बचाउने गरी रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका तत्काल तयार गर्न र किसानलाई लाभ हुने गरी ठोस खाका बनाएर तीन दिनभित्र पेस गर्न उनको निर्देशन छ।

 हेर्नुहोस् भिडियो : 

प्रकाशित: २७ श्रावण २०८२ २०:१४ मंगलबार