राजनीति

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

प्रधानमन्त्री सुशीला कार्कीले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ (पब्लिक अनाउन्समेन्ट सिस्टम) को निरीक्षण गरेकी छन्।  

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार प्रधानमन्त्री कार्कीले सुशासन प्रवर्द्धनका लागि सुरु भएको सेवा प्रवाहको मोडेल ‘पास’ सहितको समग्र प्रणाली र कार्यालय व्यवस्थापनको निरीक्षण गरेकी हुन्। निरीक्षणमा गृहमन्त्री ओमप्रकाश अर्याललगायत विशिष्ट पदाधिकारीहरू सहभागी थिए।  

कार्यालयले सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र जनमैत्री बनाउन सार्वजनिक सम्बोधन/घोषणा प्रणालीसहितको नयाँ सेवा मोडेल सुरु गरेको जनाएको छ। सो प्रणालीको अवलोकन तथा निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीसँगका अन्य सरकारी निकायमा उक्त प्रणाली विस्तार गर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए। यो प्रणाली लागू भएको करिब तीन महिनाको अवधिमा सेवाग्राहीबाट कुनै गुनासो नआएको र सेवाग्राही सन्तुष्टि बढेको उनले बताए।  

'सेवा प्रवाहलाई सुशासनमुखी, जवाफदेही र पारदर्शी बनाउन नयाँ मोडेल लागू गरिएको ह । जेनजी आन्दोलनपछि उठेका सुशासन र पारदर्शिताका आवाजलाई सम्बोधन गर्ने उद्देश्यले यो प्रणाली विकास गरिएको हो। यसबाट बिचौलियाको भूमिकालाई कम गर्न मद्दत पुगेको छ', उनले भने, 'कार्यालयको भुइँतलादेखि प्रत्येक तलासम्म ‘स्पिकर’ जडान गरी सेवाग्राहीलाई आवश्यक सूचना, निर्देशन तथा सेवासम्बन्धी जानकारी दिने व्यवस्था मिलाइएको छ। डिजिटल प्रविधिको प्रयोग गरिएको छ।'

नागरिकता तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी केन्द्रीय डाटाबेस सर्भरमा देखिने समस्याका कारण सेवाग्राहीलाई केही ढिलाइ हुने गरेको भन्दै प्रजिअ पौडेलले गृह मन्त्रालयलाई समन्वय गरिएको बताए। कार्यालयमा बिहान ९ः४५ बजे सेवा सुरु हुनुअघि स्वचालित रूपमा आवाजमार्फत सन्देश प्रसारण गर्ने व्यवस्था गरिएको छ। त्यसपछि राष्ट्रिय गान बजाएर मात्र सेवा सुरु गर्ने अभ्याससमेत गरिएको छ। 

दिउँसो खाजा समयअघि सेवाग्राहीलाई जानकारी दिन १०–१० मिनेटको अन्तरालमा सूचना सन्देश प्रसारण गर्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ।

प्रकाशित: २ चैत्र २०८२ १७:१३ सोमबार