राजनीति

प्रधानमन्त्रीले दिए दर खाने दिनको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको दर खाने दिनको अवसरमा शुभकामना व्यक्त गर्दै यस पर्वले पारिवारिक मिलाप र आत्मीयतालाई प्रगाढ बनाउने बताएका छन्।

सोमबार सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उनले तीजको सांस्कृतिक महत्व र समयसँगै यसमा आएको परिवर्तनबारे चर्चा गरे।

प्रधानमन्त्री ओलीले विगतमा भौतिक सुविधा नभएको र यातायात तथा सञ्चारको अभाव रहेको समयमा तीजले छोरी-चेली र माइतीको भेटघाट गराउने महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरे।

‘हिजोको समाज आजको जस्तो भौतिक सुविधामा थिएन, एउटा गाउँबाट अर्को गाउँमा पैदल हिँडेर पुग्नु पर्थ्यो,’ उनले लेखेका छन्, ‘पुरानो पारिवारिक र सामाजिक जीवनका कठिनाइहरू तीजका पुराना गीतमा पाइन्छन्।’

उनले समयसँगै संयुक्त परिवारको संस्कृतिमा परिवर्तन आएको र महिलाहरूमा आत्मनिर्भरता तथा सशक्तीकरण बढेकाले दर खाने प्रचलनमा पनि फेरबदल आएको उल्लेख गरे।

तर, पर्वको मौलिक मर्म भने कायमै रहेको उनको भनाइ छ। ‘विवाहित छोरी सहित वर्षमा एकदिन भए पनि तीन पुस्तासम्म एउटै छानोमुनि बसेर दर खाँदै आत्मियता साट्ने अवसर हो यो,’ प्रधानमन्त्रीले लेखेका छन्।

‘आजको दिनले हामी सबै माइती र चेलीलाई प्रगाढ पारिवारिक ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस्। दर खाने दिनको सबैलाई शुभकामना !’ 

प्रकाशित: ९ भाद्र २०८२ २०:५९ सोमबार