जेनजी अभियन्ता रक्षा बमले तीन वर्षीया बालिकाको बलात्कारपछि भएको विभत्स हत्याप्रति प्रधानमन्त्रीले संवेदना व्यक्त गर्नुपर्ने बताएकी छन्।
बमले ‘बोल्न होइन, काम गर्न आएको हुँ’ भन्ने प्रधानमन्त्रीको भनाइप्रति टिप्पणी गर्दै यस्तो बताएकी हुन्। उनले जनताका समस्या प्राविधिक विषयमा मात्रै सीमित नहुने भन्दै राज्यले पीडितको दुःखमा संवेदना देखाउनुपर्ने बताइन्।
'संसदमा बोल्नु हुन्न, अन्तर्वार्ता दिनु हुन्न। म “बोल्न होइन, काम गर्न आएको हुँ” भन्नुहुन्छ। तर, प्रधानमन्त्रीज्यू, जनताका समस्या प्राविधिक मात्रै हुँदैनन् क्या। जनताका केही घाउहरू यस्ता हुन्छन्, जसमा संवेदनाले मल्हम लगाउनुपर्छ,' बमले सामाजिक सञ्जालमार्फत भनेकी छन्।
तीन वर्षीया बालिकामाथि बलात्कारपछि भएको विभत्स हत्याको घटनाले समाजलाई स्तब्ध बनाएको उल्लेख गर्दै उनले यस्तो अवस्थामा प्रधानमन्त्रीले दुई शब्द संवेदना व्यक्त गर्दा केही नबिग्रने बताइन्। उनका अनुसार पीडित परिवारलाई न्यायसँगै राज्यले आफ्नो दुःख देखेको र उनीहरूको पीडा देशकै पीडा भएको अनुभूति आवश्यक छ।
'तीन वर्षीया बालिकाको बलात्कारपछि विभत्स हत्या भएको छ। उसको अंग अंग छियाछिया भएको छ। यस्तो बेला देशको प्रधानमन्त्रीले दुई शब्द संवेदना व्यक्त गरिदिनुभयो भने के बिग्रिन्छ? पीडित परिवारलाई न्यायका साथ साथै आफ्नो दुःख राज्यले देखेको छ भन्ने अनुभूति चाहिएको छ। उनीहरूको पीडा यो देशको पनि पीडा हो भन्ने आश्वासन चाहिएको छ,' उनले भनिन्।
उनले देशलाई प्रधानमन्त्रीका रूपमा संवेदनशील अभिभावकको समेत आवश्यकता रहेको बताएकी छन्। 'प्रधानमन्त्रीज्यू, ढुङ्गाको मन नबनाउनुस्। उनीहरूको भागको केही पीडा तपाईं लिनुस्। केही पीडा हामी लिन्छौँ। देशलाई प्रधानमन्त्रीको रूपमा संवेदनशील अभिभावक पनि चाहिएको हो,' उनले लेखेका छन्।
प्रकाशित: ६ भाद्र २०८३ ११:१७ शनिबार