प्रधानमन्त्री बालेन्द्र शाहको कालो सनग्लास अहिले अन्तर्राष्ट्रिय मिडियामा चर्चाको विषय बनेको छ।
शुक्रबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दा पनि शाहले आफ्नो पहिचान बनेको कालो चस्मा लगाएका थिए। अमेरिकी पत्रिका ‘द न्युयोर्क टाइम्स’ले शाहको संयुक्त राष्ट्रसंघ यात्रा र राजनीतिक पहिचानबारे प्रकाशित समाचारमा उनको कालो चस्मालाई समेत विशेष रूपमा उल्लेख गरेको छ। समाचारमा ३६ वर्षीय प्रधानमन्त्री शाहले कालो चस्मामार्फत आफ्नो छुट्टै पहिचान बनाएको उल्लेख गरिएको छ।
‘बालेन’ नामले चर्चित शाह सार्वजनिक कार्यक्रममा विरलै चस्माबिना देखिन्छन्। र्यापरका रूपमा सक्रिय हुँदादेखि नै उनले लगाउँदै आएको यो चस्मा काठमाडौंको मेयर हुँदै प्रधानमन्त्री बनेसम्म पनि उनको शैलीको हिस्सा बनेको छ।
संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा शाहले कालो सुट र कालो नेपाली टोपीसँगै कालो सनग्लास लगाएका थिए। उनले आफ्नो सम्बोधनमा जलवायु परिवर्तनबाट कम विकसित देशहरूले भोगिरहेको असमान असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए।
‘जलवायु परिवर्तनले सीमाना चिन्दैन,’ उनले महासभामा भने। उनले गत महिना नेपालमा आएको विनाशकारी बाढीलाई ‘विश्वका लागि एउटा चेतावनी’ का रूपमा वर्णन गरेका थिए।
शाहको सनग्लास लगाउने शैली नयाँ भने होइन। उनले नेपालका ‘अन्डरग्राउन्ड’ हिप-हप क्षेत्रमा र्याप ब्याटलमा भाग लिने समयदेखि नै यस्तो चस्मा लगाउँदै आएका थिए। त्यसबेला ‘नेपाल स्माइलिङ’ जस्ता गीतमार्फत उनले युवा पुस्तामाझ आफ्नो छुट्टै पहिचान बनाएका थिए।
स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौंको मेयरमा निर्वाचित भएपछि उनको यही शैली राजनीतिक पहिचानको पनि हिस्सा बन्यो। कालो सुट र सनग्लाससहितको उनको रूपले परम्परागत दलको राजनीतिबाहिरको व्यक्तिका रूपमा उनको छविलाई थप बलियो बनायो।
प्रधानमन्त्री बनेपछि पनि शाहले आफ्नो यही शैलीलाई निरन्तरता दिएका छन्। उनी संसद्, राजकीय समारोह, सैन्य परेड र आधिकारिक तस्बिरमा समेत गाढा रङको सनग्लास लगाउँदै आएका छन्।
उनको चस्मा नेपालमा फेसनको विषयसमेत बनेको छ। अनलाइन बजार ‘दराज’ मा ‘बालेन शाह ग्लासेस’ भनेर खोज्दा उनको चस्माको शैलीसँग मिल्ने विभिन्न प्रकारका चस्मा भेटिन्छन्। यसअघि अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘अल जजिरा’ले पनि शाहको कालो चस्मा नेपाली युवामाझ फेसनको प्रतीक बनेको उल्लेख गरेको थियो।
तर शाह सधैं चस्मामा मात्रै सार्वजनिक हुने गरेका छैनन्। उनको आँखामा स्वास्थ्यसम्बन्धी समस्या रहेकाले चिकित्सकको सल्लाहअनुसार कालो चस्मा लगाउने गरेको जनाइएको छ। शाहको सचिवालयका अनुसार विशेषगरी उज्यालो प्रकाश सहन गाह्रो हुने समस्याका कारण उनले चस्मा प्रयोग गर्नुपर्छ।
संसद् बैठक तथा सार्वजनिक कार्यक्रममा निरन्तर कालो चस्मा लगाएको विषयमा चासो बढेपछि शाहले संसद् सचिवालयमा आफ्नो स्वास्थ्य परीक्षण रिपोर्टसहित पत्र पठाएर यसको कारण खुलाएका थिए। स्वास्थ्यसम्बन्धी कारण देखाएपछि उनलाई संसद् बैठकमा पनि कालो चस्मा लगाउन अनुमति दिइएको जनाइएको छ।
यसअघि काठमाडौं महानगरपालिकाको मेयर रहँदादेखि नै उनको कालो चस्मा लगाउने शैलीलाई धेरैले ‘सिग्नेचर स्टाइल’ वा फेसनका रूपमा बुझ्दै आएका थिए। तर स्वास्थ्यसम्बन्धी कारण सार्वजनिक भएपछि यो उनको बाध्यता पनि रहेको स्पष्ट भएको छ।
तर शाह सधैं चस्मासहित मात्रै सार्वजनिक हुने गरेका भने होइनन्। गत महिना रसुवा र नुवाकोट क्षेत्रमा आएको बाढीबाट प्रभावित क्षेत्रको निरीक्षणमा जाँदा उनले सनग्लास फुकालेका थिए। त्यसअघि निर्वाचनताका उत्साहित भीडसामु पनि उनले चस्मा फुकालेर समर्थकहरूलाई ‘म तपाईंहरूलाई माया गर्छु’ भनेका थिए। उनी सामान्यतया मन्त्रिपरिषद्को बैठकमा पनि चस्माबिना देखिन्छन्।
र्यापरदेखि काठमाडौंको मेयर हुँदै प्रधानमन्त्री बनेका शाहले आफ्नो सार्वजनिक उपस्थितिमा वर्षौंदेखि कायम राखेको कालो चस्मा अहिले संयुक्त राष्ट्रसंघको महासभासम्म पुगेको छ। यही कारण उनको कालो चस्मा नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय मिडियामा समेत चर्चाको विषय बनेको हो।
प्रकाशित: ९ आश्विन २०८३ १२:५१ शुक्रबार