राजनीति

चीन जाने रास्वपाको टोलीलाई प्रधानमन्त्री बालेनले भने- आर्थिक विकाससँग जोड्ने एजेण्डा उठाउनूहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यको नेतृत्वमा चीन भ्रमणमा जान लागेको सांसद तथा पार्टी नेताहरूको टोलीले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेको छ ।

नोभेम्बर १५ देखि २६ सम्म हुने चीन भ्रमणका विषयमा छलफल गर्न टोली शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार गएका थिए । छलफल पछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका नेता एवं सांसद कविन्द्र बुर्लाकोटीले भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने विषयमा प्रधानमन्त्रीबाट निर्देशन प्राप्त भएको जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्रीले चीनसँगको नेपालको विशिष्ट सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण फलदायी हुनुपर्नेमा जोड दिए । साथै, भ्रमणलाई केवल औपचारिक वा पर्यटकीय भ्रमणमा सीमित नराखी नेपालको राष्ट्रिय हित र आर्थिक विकाससँग जोड्न निर्देशन दिए ।

प्रधानमन्त्रीले विशेषगरी चीनबाट प्रविधि, व्यापार, आर्थिक विकास, पर्यटन तथा कृषिको आधुनिकीकरणका क्षेत्रमा लिन सकिने लाभबारे अध्ययन गर्न टोलीलाई सुझाव दिए ।

बुर्लाकोटीका अनुसार चीन भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीले तयार पारेको कार्यक्रममासमेत यी विषय समेटिएका छन् । भ्रमणलाई दुई देशबीचको आपसी हित र विशेषगरी नेपालको हित प्रवद्र्धन गर्ने अवसरका रूपमा उपयोग गर्ने टोलीको तयारी छ । सीमा विवादबारे भने पार्टी तहको भ्रमण भएकाले छलफल नहुने बुर्लाकोटीले स्पष्ट पारे। उनले नेपालको सीमा सम्बन्धी अडान यथावत् रहेको पनि बताए । टोलीले चीन भम्रमन १० दिनको रहेको उनले जनकारी दिए ।

प्रकाशित: २७ कार्तिक २०८३ १५:०६ शुक्रबार