राजनीति

आज पदबहाली गर्दै प्रधानमन्त्री

गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्रीकाे कार्यालय रहने

पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदबहाली गर्ने भएकी छन्। नयाँ प्रधानमन्त्रीको पदबहाली गर्ने कार्यक्रम आइतबारका लागि तय भएको प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठले बताए। उनका अनुसार आइतबार बिहान ११ बजे प्रधानमन्त्री कार्कीले नयाँ भवनमा पदबहाली गर्ने कार्यक्रम तय गरिएको हो। नयाँ प्रधानमन्त्री कार्कीलाई स्वागत गर्न उच्च कर्मचारीहरूलाई बिहानै बोलाइएको छ।

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका उपसचिव गणेश कर्माचार्यका अनुसार प्रधानमन्त्री कार्की शुक्रबार साँझदेखि नै बालुबटारस्थित प्रधानमन्त्री निवासमा बस्न थालेकी छन्। सचिवालयका एक कर्मचारीले भने, ‘शुक्रबार शपथग्रहणपछि नयाँ प्रधानमन्त्री सुशीला कार्की आफ्नै निजी निवासमै जान चाहनुभएको थियो। तर सुरक्षाकर्मीले सुरक्षा लगायतका कारणले प्रधानमन्त्रीनिवासमै बस्न सल्लाह दिएपछि उहाँ बालुवाटार जानुभएको हो।’

प्रधानमन्त्री कार्यालयका एक कर्मचारीका अनुसार पुरानो मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा आगलगाी हुँदा बचेका सामान प्रधानमन्त्रीको नयाँ कार्यालयमा लगेर प्रयोग गरिएको छ। शुक्रबार बिहान मुख्यसचिव एकनारायण अर्याल लगायतका कर्मचारीले नयाँ प्रधानमन्त्रीलाई उपयुक्त कार्यालय खोजेका थिए। उनीहरूले गृह मन्त्रालय परिसरमा सोही मन्त्रालयका लागि बनाइएको नयाँ भवन प्रधानमन्त्रीको कार्यालय बनाउन उपयुक्त भएको ठहर गरेका थिए। नयाँ भवनको सरसफाइ, आन्तरिक सजावट तथा अन्य व्यवस्थापन भइसकेको छ।

कुन मन्त्रालयका कहाँ सर्दै

हालको गृह मन्त्रालय सिंहदरबार परिसरमै रहेको पुरानो सामान्य प्रशासन मन्त्रालयमा सर्न लागेको छ । पहिले सामान्य प्रशासन मन्त्रालयको छुट्टै कार्यालय थियो। पछि संघीय मामिला र सामान्य प्रशासन मन्त्रालयलाई गाभिएर बनेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पुरानो स्थानीय विकास मन्त्रालयमा सारिएको थियो। त्यसपछि पुरानो सामान्य प्रशासन मन्त्रालयको भवन खाली भएको थियो। खाली भएको सोही भवनमा अहिले गृह मन्त्रालय सर्न लागेको हो।

यसैगरी शिक्षा मन्त्रालय हाल सार्वजनिक खरिद अनुगमन कार्यालय रहेको केशरमहलमा सर्ने भएको छ। पहिले केशरमहलमै रहेको शिक्षा मन्त्रालयलाई पछि सिंहदरबारमा सारिएको थियो। हालको स्वास्थ्य मन्त्रालय मन्त्रालयकै पछाडि रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यालयमा सार्ने भएको छ। रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको भवनका अधिकांश कोठा जलेका छन्। त्यहाँ जलनबाट बचेका केही कोठालाई पनि मन्त्रालयले प्रयोग गर्ने भएको छ।

त्यस्तै हाल बबरमहलमा रहेको सडक विभागको मुख्य कार्यालय अब पाटनढोका चाकुपाटमा सर्ने भएको छ। २०७२ सालको भूकम्पले सडक विभागको कार्यालय भत्काएपछि चाकुपाटमै विभागको कार्यालय राखिएको थियो। दुई वर्षअघि मात्र बबरमहलमा रहेको सडक विभागको कार्यालयलाई पुनर्निर्माण गरी चिटिक्क बनाइएको थियो।

जेनजी आन्दोलनका क्रममा बबरमहलको उक्त भवनमा आगो लगाइएको थियो। जलेर भवन प्रयोग गर्न नमिल्ने भएपछि कार्यालय चाकुपाटमा सार्न लागिएको हो। विभागका महानिर्देशक विजय जैशीका अनुसार यही साताबाट विभागको नयाँ कार्यालय चाकुपाटमा सर्ने भएको छ। ‘मुख्य कार्यालय चाकुपाटमा सरे पनि हालको कार्यालयमा जलन बाँकी कोठा पनि हामीले प्रयोग गर्नेछौं’, उनले भने।

सहरी विकास तथा भवन निर्माण विभागले आगलागीबाट बचेका कोठा प्रयोग गरी काम चलाउने भएको महानिर्देशक मच्चकाजी महर्जनले बताए। उनका अनुसार जेनजी आन्दोलनका क्रममा लगाइएको आगोबाट विभागको हाताभित्रका दुइवटा ब्लक पूर्ण रूपमा क्षति भएका छन्। सहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मैनालीले कार्यालय भवन जलेका मन्त्रालयहरूले नयाँ भवनका लागि आफैं व्यवस्थापन गर्नुपर्ने बताए।

प्रकाशित: २९ भाद्र २०८२ ०६:११ आइतबार