राजनीति

महासभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री शाह

महासचिव गुटेरेसले सम्झिए नेपाल

प्रधानमन्त्री बालेन्द्र शाह बिहीबार संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दैछन्। अमेरिकाको न्युयोर्कमा जारी महासभामा प्रधानमन्त्री शाहले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ।

राष्ट्रसंघको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहको सम्बोधन बिहीबार स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुने सत्रमा तय गरिएको छ।

नेपालमा भने उनको सम्बोधन शुक्रबार मध्यरातपछि पर्नेछ।

प्रधानमन्त्री शाह मंगलबार साँझ कतार एयरवेजको उडानमार्फत न्युयोर्क पुगेका हुन्। महासभाका विभिन्न सत्र तथा छलफलमा सहभागी हुने उनको कार्यक्रम छ। न्युयोर्क बसाइका क्रममा उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।

यसपटक प्रधानमन्त्री शाहको सम्बोधनमा पछिल्लो समय नेपालमा देखिएको जलवायुजन्य विपद् र त्यसबाट भएको क्षतिलाई प्राथमिकताका साथ उठाउने तयारी गरिएको छ। भोटेकोसी क्षेत्रमा आएको बाढीबाट भएको क्षति, जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढिरहेको जोखिम र त्यसका लागि अन्तर्राष्ट्रिय सहयोगको विषय नेपालले विश्वमञ्चमा राख्ने तयारी गरेको छ।

नेपालले कम कार्बन उत्सर्जन गर्ने तर जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुकका लागि जलवायु क्षतिपूर्तिको विषय उठाउने तयारी गरेको छ। साथै, जलवायु परिवर्तनका कारण भएको क्षतिका लागि हानि तथा नोक्सानी कोषलाई प्रभावकारी बनाउँदै प्रभावित मुलुकलाई ऋणको थप भार नपर्ने गरी प्रत्यक्ष आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने विषयमा पनि जोड दिइनेछ।

प्रधानमन्त्री शाहको सम्बोधनअघि नै राष्ट्रसंघका महासचिव गुटेरेसले महासभामा नेपाललाई सम्झिएका छन्। मंगलबार महासभालाई सम्बोधन गर्ने क्रममा गुटेरेसले तीन वर्षअघि नेपालको हिमाली क्षेत्रबाट आफूले जलवायु परिवर्तनको जोखिमबारे दिएको चेतावनी स्मरण गरेका हुन्।

उनले नेपालका हिमालमा तीव्र गतिमा हिउँ पग्लिरहेको विषयमा आफूले त्यसबेला विश्वलाई सचेत गराएको बताए। अहिले देखिएका घटनाले जलवायु परिवर्तनका असर अपेक्षा गरिएभन्दा छिटो, कडा र व्यापकरूपमा देखिन थालेको उनको चेतावनी थियो।

महासचिव गुटेरेसले जलवायु संकटलाई एक पुस्ताले अर्को पुस्ताको भविष्य उपभोग गरिरहेको अवस्थासँग तुलना गरे। कम जिम्मेवार समूह र देशहरूले नै यसको असर सबैभन्दा पहिले र सबैभन्दा गम्भीर रूपमा भोगिरहेको उनको भनाइ थियो।

गुटेरेसले जलवायु परिवर्तनको असर भोगिरहेका कमजोर देशले न्याय पाउनुपर्ने बताए। उनले प्रदूषकले यसको मूल्य चुकाउनुपर्नेमा जोड दिँदै विकसित देशलाई जलवायु अनुकूलनका लागि उपलब्ध वित्त बढाउन र हानि तथा नोक्सानी कोषलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आह्वान गरेका हुन्।

महासभाको सम्बोधनमा गुटेरेसले जलवायु संकटसँगै विश्वमा बढिरहेका द्वन्द्व, असमानता र अन्तर्राष्ट्रिय नियम कमजोर बन्दै गएको विषय पनि उठाए। मध्यपूर्व, युक्रेन, सुडान, म्यानमारलगायतका द्वन्द्वको प्रसंग उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय कानुन र राष्ट्रसंघीय बडापत्रको सम्मानमा जोड दिएका हुन्। उनले कृत्रिम बौद्धिकता (एआई) को बढ्दो प्रभावबारे पनि चेतावनी दिएका छन्।

प्रविधि आफैंमा खतरा नभए पनि उत्तरदायित्व, निगरानी र पारदर्शिताबिनाको प्रविधि जोखिमपूर्ण हुनसक्ने उनको भनाइ छ। गुटेरेसले जीवन र मृत्युका निर्णय मेसिनलाई सुम्पन नहुने बताएका छन्। साथै, ‘हत्यारा रोबोट’ लाई भविष्यमा स्थान दिन नहुने उनको तर्क थियो।

हाल अमेरिकामा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल विभिन्न कूटनीतिक भेटघाटमा व्यस्त छन्। प्रधानमन्त्री शाहको भ्रमण टोलीमा प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्यलगायत छन्। महासभाका विभिन्न कार्यक्रमपछि प्रधानमन्त्री शाह कतार हुँदै असोज १० गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित: ८ आश्विन २०८३ ०६:३९ बिहीबार