राजनीति

प्रधानमन्त्रीले प्रत्यक्ष र समानुपातिक सांसदबीच विभेद गरेको आरोप

नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले प्रधानमन्त्री बालेन्द्र शाहले प्रत्यक्ष र समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूबीच विभेद गरेको आरोप लगाएकी छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट आएका सांसदहरूबीच किन फरक व्यवहार गरिएको भन्ने प्रश्न उठाइन्।

प्रधानमन्त्री शाहले पछिल्लो समय प्रदेशगत रूपमा सांसदहरूसँग भेटघाट गरिरहेका छन्। तर ती भेटघाटमा प्रत्यक्ष निर्वाचनबाट आएका सांसदलाई मात्र समेटिएको भन्दै हमालले आपत्ति जनाएकी हुन्।

उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूले प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित माननीयहरूलाई भेटेर विकास निर्माणका विषयमा धारणा राख्ने अवसर दिनुभएको भन्ने सुनिएको छ। तर समानुपातिक प्रणालीबाट निर्वाचित सदस्यहरूलाई त्यस्तो अवसर किन दिइएन?’

प्रकाशित: २५ चैत्र २०८२ १३:५२ बुधबार