राजनीति

पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग

विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर आपत्ति जनाएको छ।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले कार्यालय समय सकिएपछि सादा पोशाकका प्रहरीले सञ्चारमाध्यमका कार्यालयमा पुगेर पत्रकारलाई नियन्त्रणमा लिनु र पक्राउको स्पष्ट कारण नखुलाउनु गम्भीर विषय भएको जनाएको हो।

काउन्सिलका अनुसार पक्राउको कारण स्पष्ट नगरिएको, पक्राउ पुर्जी नदेखाइएको, अदालतको अनुमति लिइएको नदेखिएको तथा अपराधसम्बन्धी जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारलाई नियन्त्रणमा लिइनु आपत्तिजनक छ। प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि प्रश्न उठाएको काउन्सिलको भनाइ छ।

सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति असहमति वा पत्रकार आचारसंहितासम्बन्धी उजुरी परेमा त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिलको रहेको विज्ञप्तिमा उल्लेख छ। समाचार सामग्रीकै विषयमा प्रहरी परिचालन गर्नुभन्दा काउन्सिलको स्थापित विधि र प्रक्रियामार्फत समस्या समाधान गर्न नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।

काउन्सिलले नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न माग गरेको छ। कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए उनीहरूलाई तत्काल रिहा गर्नसमेत आग्रह गरेको छ।

साथै, पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्न र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न काउन्सिलले अनुरोध गरेको छ।

प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको प्रवर्द्धनमा आफू प्रतिबद्ध रहेको काउन्सिलले जनाएको छ।

प्रकाशित: १३ कार्तिक २०८३ १९:५६ शुक्रबार