नेपाली कांग्रेसले सभापति गगनकुमार थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकले थापाको राजीनामा अस्वीकृत गर्ने उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए।
शर्माले सामाजिक सञ्जालमा फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टी पराजयको नैतिक जिम्मा सभापति थापाले लिन्छु भन्नु सकारात्मक भएको उल्लेख गर्दै लेखेका छन्, ‘तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने हो।’
उनले केन्द्रीय समिति बैठकमा सभापति थापाको राजीनामा र त्यसलाई अस्वीकृत गर्ने प्रस्ताव पेस हुने जनाउँदै लेखेका छन्, ‘डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन।’
प्रत्यक्षतर्फका १६५ सिटमध्ये १८ जितेको कांग्रेसले समानुपातिकतर्फ १७ लाख ५९ हजार १७२ मतसहित २० सिट पाएको छ। २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ २३ सिट जितेको थियो।
त्यतिबेला एमाले र तत्कालीन माओवादी केन्द्र गठबन्धन गरी चुनावमा गएका थिए। त्यसबेला कांग्रेसले समानुपातिकतर्फ ३२.७७ प्रतिशत अर्थात् ३४ लाख ६९ लाख बढी मत पाएको थियो।
कांग्रेसले २०७९ को निर्वाचनमा समानुपातिकतर्फ ७४ मा भन्दा सात लाख ५४ हजार मत कम पाएको थियो। ७९ मा कांग्रेसले समानुपातिकतर्फ २७ लाख १५ हजार २२५ (२५.७१ प्रतिशत) मत पाएको थियो। त्यसबेला प्रत्यक्ष र समानुपातिकसहित ८९ सिट जितेर कांग्रेस प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल बनेको थियो।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस सभापति गगनकुमार थापासहित धेरै नेता पराजित भए।
कांग्रेसभित्रको असन्तुष्ट पक्षले चुनावमा कांग्रेस पराजित भएपछि थापाले नैतिकताका आधारमा सभापतिबाट राजीनामा दिनुपर्ने र विशेष महाधिवेशनको औचित्य पनि सकिएको जिकिर गर्दै आएका बेला उनले बुधबार पदबाट राजीनामा गरेका हुन्।
केन्द्रीय समितिले राजीनामा अस्वीकृत गर्ने र शुक्रबारपछिका बैठकको अध्यक्षता थापाले नै गर्ने बताउँदै निकट एक नेताले भने, ‘सोहीअनुसार तयारी भएको छ।’
प्रकाशित: ५ चैत्र २०८२ १९:४५ बिहीबार