राजनीति

धादिङ दुर्घटनाप्रति सभापति थापाद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले धादिङ दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

सभापति थापाले आज शोक विज्ञप्ति जारी गरी पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस आज बिहान करिब १:३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडा भन्ने ठाउँबाट त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु र २७ जना घाइते भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन्।

सभापति थापाले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्। उनले घाइतेको उपचारको उचित प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेका छन्।

कांग्रेसले पछिल्लो समय यस्ता सडक दुर्घटना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाको गहिरो अध्ययन गरेर यस्ता घटनालाई न्यूनीकरण गर्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: ११ फाल्गुन २०८२ १२:२१ सोमबार