राजनीति

एकताका चार आधार पेस गर्दै योगेशले भने : ओलीको आव्हान समय सान्दर्भिक छ

नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको आव्हान स्वागत र समय सान्दर्भिक रहेको बताएका छन्।

आज सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै सचिव भट्टराईले यस्तो बताएका हुन्। उनले जनताको बहुदलीय जनवादको मार्ग निर्देशन र नेकपा एमालेको अगुवाइमा सिंगो वाम आन्दोलनलाई एकताबद्ध बनाउनु आजको राष्ट्रिय कार्यभार भएको बताए।

'नेकपा एमालेको निर्माणमा योगदान गरेका कमरेडहरूलाई पुन: यो आन्दोलनमा समाहित हुनका लागि पार्टी अध्यक्षले गर्नु भएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ,' उनले लेखेका छन्, 'जनताको बहुदलीय जनवादको मार्ग निर्देशन र नेकपा एमालेको अगुवाइमा सिंगो वाम आन्दोलनलाई एकताबद्ध बनाउनु आजको राष्ट्रिय कार्यभार हो।' 

साथै निषेध, प्रतिशोध र घृणालाई त्यागेर सहकार्य र सहअस्तित्वमार्फत एमालेलाई सुदृढ र एकताबद्ध बनाउन सकिने विश्वास समेत उनले व्यक्त गरे। 'जवजको सिद्धान्त “शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धाको माध्यमबाट नेपाली समाजको प्रगतिशील रूपान्तरणमा”  विश्वास गर्नेहरूको एउटा केन्द्र बन्नै पर्छ त्यो एमाले हो। निषेध, प्रतिशोध र घृणालाई त्यागेर सहकार्य र सहअस्तित्व मार्फत नेकपा एमालेलाई सुदृढ र एकताबद्ध बनाउन सकिन्छ,' उनले भने।  

यस्तै भट्टराईले एकताका चार आधार पनि प्रस्तुत गरेका छन्। उनले जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा स्वीकार गर्ने, पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको योगदान र निरन्तरतालाई स्वीकार गर्ने, २०८२ भाद्र २३ र २४ पछि उत्पन्न परिस्थितिको गम्भीर र वस्तुनिष्ठ समीक्षा गर्ने र पार्टीको बहुआयामिक पुनर्गठन गरी आगामी प्रतिस्पर्धामा नेकपा एमालेलाई विजयी बनाउने र नेकपा एमालेको नेतृत्वमा आर्थिक/ सामाजिक रूपान्तरण गरी सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने आधारहरू पेस गरेका छन्।

साथै उनले यिनै मान्यतामा हातेमालो गरेर अगाडि बढ्न सबैमा आव्हान समेत गरेका छन्।

प्रकाशित: १५ कार्तिक २०८२ ०९:०४ शनिबार