काठमाडौं महानगरपालिकाले आपतकालीन स्वास्थ्य सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित एम्बुलेन्स सेवाको निरन्तरता, गुणस्तर बनाउन २ पाङ्ग्रे एम्बुलेन्स सञ्चालनको तयारी गरेको छ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको आजको बैठकमा स्वास्थ्य विभाग, वित्त विभाग तथा नेपाल एम्बुलेन्स सेवाका पदाधिकारीबीच सेवा सुधारका विभिन्न उपायबारे विचार विमर्श गरिएको हो।
बैठकमा डंगोलले आपतकालीन अवस्थामा छिटो सेवा पुर्याउन २ पाङ्ग्रे एम्बुलेन्स सञ्चालनको तयारी गर्न निर्देशन दिएकी छन्। उनले सवारी चापका कारण चार पाङ्ग्रे एम्बुलेन्स ढिलो पुग्ने अवस्थालाई मध्यनजर गर्दै बिरामीको स्थानमा चिकित्सकलाई तुरुन्तै पुर्याउने संयन्त्र आवश्यक रहेको बताइन् ।
उनले एम्बुलेन्स ट्र्याकिङ प्रणाली विकास गर्दै सेवाग्राहीले आफूले बोलाएको एम्बुलेन्सको अवस्थिति र भित्र रहेका स्वास्थ्यकर्मीबारे जानकारी पाउने व्यवस्था लागू गर्न पनि जोड दिइन्।
यो सेवा ‘प्रिहस्पिटल मेडिकल सर्भिस’ अन्तर्गत सञ्चालन हुँदै आएको छ। महानगरपालिकाले २०७६ वैशाखमा केन्द्रसँग सम्झौता गरी हालसम्म १३ करोड ४४ लाख रुपैयाँ अनुदान उपलब्ध गराइसकेको छ। हालको अवस्थामा एक बिरामीका लागि औसत १ हजार ६०५ रुपैयाँ खर्च हुने गरेको छ । जुन खर्च महानगरपालिकाले नै व्यहोर्दै आएको छ।
स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले उपत्यकाका अन्य स्थानीय तहसँग आर्थिक सहकार्यको सम्भावनामा छलफल आवश्यक रहेको बताए। त्यस्तै वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीले लागत घटाउँदै सेवाको गुणस्तर सुधार गर्ने विषयमा अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याए।
एम्बुलेन्स सेवाका अध्यक्ष डा अनिल श्रेष्ठले आपतकालीन सेवा सञ्चालन जटिल र संवेदनशील जिम्मेवारी भएको बताए । सेवा सहकार्यपछि हालसम्म ८४ हजार ४८९ जना बिरामीलाई सेवा दिइएको र ६९ जना गर्भवती महिलाले एम्बुलेन्समै शिशु जन्माएको जानकारी दिइयो।
काठमाडौं महानगरले कोभिड १९ को महामारीका बेला मात्र २३ हजार ५ सय जनालाई सेवा प्रदान गरिएको थियो। हाल महानगरभित्र ७ वटा, कीर्तिपुर अस्पताल, ललितपुरको सातदोबाटो र भक्तपुरको सल्लाघारीमा गरी एम्बुलेन्स सेवा सञ्चालनमा रहेको छ। निर्धारित ८ मिनेटभित्र सेवा पुर्याउने लक्ष्य पूरा गर्न उपत्यकामा कुल ४९ वटा एम्बुलेन्स आवश्यक पर्ने निष्कर्ष पनि बैठकमा निकालिएको छ।
प्रकाशित: १८ चैत्र २०८२ १३:३६ बुधबार