फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि नयाँ संसद् सञ्चालनका लागि तयारी तीव्र पारिएको छ। यही सन्दर्भमा बिहीबार संघीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बसेर आगामी प्रक्रिया र कार्यतालिकाबारे सहमति जुटाइएको छ।
सिंहदरबारस्थित संसद् सचिवालयका महासचिवको कार्यकक्षमा बसेको बैठकमा संसद् सञ्चालन, सदस्यहरूको शपथग्रहण, सभामुख चयनलगायतका विषयमा प्रारम्भिक छलफल भएको छ। बैठकले नयाँ प्रतिनिधिसभालाई व्यवस्थित रूपमा अघि बढाउन दलहरूबीच समन्वय आवश्यक रहेको निष्कर्ष निकालेको छ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटी, नेपाली कांग्रेसका मोहन आचार्य, नेकपा एमालेका गुरुप्रसाद बराल, नेकपा प्रतिनिधि रमेश मल्ल, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्रबहादुर शाही सहभागी थिए।
छलफलपछि चैत १२ गते नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहण कार्यक्रम गर्ने निर्णय गरिएको छ। सो दिन दिउँसो २ बजे शपथग्रहण गराइने तय भएको छ।
यो पनि पढ्नुहोस्
निर्वाचित सांसद्को शपथ चैत १२ गतेसचिवालय स्रोतका अनुसार शपथपछि सभामुख तथा उपसभामुख चयन प्रक्रिया अघि बढाइनेछ भने त्यसपछिका बैठकहरूमा सरकार गठन, विश्वासको मत र विधायन कार्यलाई प्राथमिकतामा राखिनेछ।
यसपटकको निर्वाचनपछि राजनीतिक शक्ति सन्तुलनमा ठूलो परिवर्तन आएको सन्दर्भमा संसद् सञ्चालन कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि बैठकमा गम्भीर छलफल भएको थियो। विशेषगरी नयाँ शक्तिका रूपमा उदाएको दलको भूमिका, परम्परागत दलहरूको सहकार्य र संसदीय अभ्यासलाई सुदृढ बनाउने विषयमा धारणा आदानप्रदान भएको बताइएको छ।
दलहरूबीच सहमति र सहकार्यको आधारमा संसद् सञ्चालन गर्ने समझदारी बनेको सहभागीहरूले बताएका छन्। उनीहरूले राजनीतिक स्थायित्व, सुशासन र जनअपेक्षा पूरा गर्न संसद् प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन्।
नयाँ प्रतिनिधिसभाको पहिलो बैठक र त्यसपछिका गतिविधिले आगामी राजनीतिक दिशालाई निर्धारण गर्ने भएकाले अहिलेको तयारीलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
प्रकाशित: ५ चैत्र २०८२ १८:०४ बिहीबार