नेपाल र भारतबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन कूटनीतिक कसरत चलिरहँदा पनि प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमण मिति तय हुन सकेको छैन। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका लागि आवश्यक तयारी भइरहेको छ।
मन्त्रालयले भ्रमणका क्रममा छलफल हुने साझा हित, सहकार्य र सम्झौताका अजेन्डा तय गर्दै छ। अजेन्डा तयार भएपछि मात्र मिति सार्वजनिक गरिनेछ। भ्रमणका लागि नेपाल र भारत दुवै पक्षलाई अनुकूल हुने समय मिलाउन प्रयास भइरहेको मन्त्रालयका अधिकारीको भनाइ छ।
दसैं, तिहार र छठ पर्वपछि भारत भ्रमणको गृहकार्य भइरहेको बताइएको छ। स्रोतका अनुसार नोभेम्बर अन्तिम साता वा डिसेम्बर पहिलो साताभित्र भ्रमण गर्ने तयारी भइरहेको छ। यसअघि नोभेम्बर २३–२४ (मंसिर ७–८ गते) भ्रमण प्रस्ताव राखिएको भनिए पनि अझै मिति तय हुन नसकेको देखिन्छ।
भारतका लागि नेपालका राजदूतमा सिफारिस गरिएका डा. निश्चलनाथ पाण्डेले संसदीय सुनुवाइ समितिमा सोमबार बुझाएको कार्य योजनामा प्रधानमन्त्रीको भ्रमण उल्लेख छ। कार्ययोजनामा उल्लेख छ, ‘यकिन मिति तय हुन बाँकी छ, तथापि प्रधानमन्त्रीले छिट्टै भारतको भ्रमण गर्नुहुनेछ।’
परराष्ट्रमन्त्रीले दिएको जानकारीका आधारमा पाण्डेले आफ्नो कार्ययोजनामा यो विषय उल्लेख गरेका हुन्।
नेपालका प्रधानमन्त्रीको भारत वा अन्य कुनै पनि देशमा हुने औपचारिक वा राजकीय भ्रमणका लागि साधारणतया १५ दिनदेखि १ महिनाअघि मिति तय गरी घोषणा गर्ने प्रचलन छ। यसै गर्नुपर्छ भन्ने बाध्यकारी व्यवस्था छैन।
भ्रमणको प्रकार र परिस्थितिअनुसार समय फरक पर्न सक्छ। औपचारिक/राजकीय भ्रमणमा दुई देशबिच ठुला सम्झौता, अजेन्डा र प्रोटोकल (शिष्टाचार) मिलाउनुपर्ने भएकाले कम्तीमा २ देखि ४ साताअघि परराष्ट्र मन्त्रालयहरूले आपसी सहमतिमा भ्रमण मिति टुंगो लगाउँछन्।
बहुपक्षीय सम्मेलनहरू संयुक्त राष्ट्रसंघको महासभा वा बिमस्टेक जस्ता क्षेत्रीय सम्मेलनहरूमा भाग लिन जानुपर्ने भएमा त्यस्ता सम्मेलनको मिति महिनौंअघि नै तय हुन्छ। कुनै विशेष परिस्थिति, राष्ट्रप्रमुखको शपथ ग्रहण समारोह वा आकस्मिक कूटनीतिक कार्यका लागि जानुपरे केही दिनको अवधिमा भ्रमण मिति तय गर्न सकिन्छ।
शाहले चैत १३ गते प्रधानमन्त्रीको कार्यभार समालेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाईं सन्देशसँगै भ्रमणको निम्ता दिएका थिए। शाहले उचित समयमा भ्रमण गर्ने जवाफ पठाएका थिए।
गत साउन २८ मा भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री शाहलाई औपचारिक भ्रमणको निमन्त्रणा दिइएको भनेको थियो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नयाँदिल्लीमा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्ता दिइसकिएको जानकारी गराएका थिए।
भारतीय अधिकारीहरूले प्रधानमन्त्री शाहको भ्रमणका विषयमा सकारात्मक प्रतिक्रिया दिँदै नेपालका अधिकारीसँग छलफल अगाडि बढाएका छन्। भ्रमणका क्रममा ऊर्जा, सीमा, व्यापार र आपसी हितका विविध विषयमा छलफल गर्न भारतीय पक्ष सकारात्मक देखिएको बताइएको छ।
प्रकाशित: २८ आश्विन २०८३ १३:४६ बुधबार