राजनीति

मोरङमा मतदानसँगै गणनाकाे तयारी

प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका सबै मतदानस्थलमा सम्पूर्ण तयारी पूरा भएको छ। मोरङका ६ वटै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ।

मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले बिहीबार बिहानैदेखि मतदान सुरु हुने र मतदान सकिएलगत्तै मतपेटिकाहरू सम्बन्धित मतगणनास्थलमा ल्याउने व्यवस्था मिलाइएको जानकारी दिए। उनका अनुसार भौगोलिक विकटताका कारण क्षेत्र नं १ को मिक्लाजुङ गाउँपालिका– १ र केराबारी– २ को पहाडी क्षेत्रबाट मतपेटिका ल्याउन करिब चार घण्टा लाग्ने अनुमान गरिएको छ भने अन्य क्षेत्रबाट मतदान सकिएको केही समयभित्रै मतपेटिका गणनास्थल आइपुग्ने छ।

मोरङका ६ वटा निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै स्थानमा मतगणनाको व्यवस्था मिलाइएको छ; जसअनुसार क्षेत्र नं १ उर्लाबारी नगरपालिकाको कार्यालय, क्षेत्र नं २ को सिजवास्थित विश्वनाथ मन्दिर, क्षेत्र नं ३ को बेलबारीस्थित भगवती मावि, क्षेत्र नं ४ को विराटनगरस्थित जनता नमुना मावि, क्षेत्र नं ५ को सुनसरी–मोरङ सिँचाइ आयोजनाको कार्यालय र क्षेत्र नं ६ को विराटनगरको आदर्श माविमा मतगणनास्थल बनाइएको छ।  

मतगणनालाई पारदर्शी र सुरक्षित बनाउन मतगणनास्थलहरूमा सिसी क्यामेरा जडान गर्नुका साथै तारजालीको घेरा लगाइएको छ। मतपेटिका संकलन भएलगत्तै सर्वदलीय बैठक बोलाएर गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत गुरुङले बताए। निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घण्टाभित्रै अन्तिम परिणाम सार्वजनिक गर्ने लक्ष्य राखेको छ। त्यसअनुसार नै सबै पक्षसँग समन्वय गरेर चाँडोभन्दा चाँडो मतपरिणाम सार्वजनिक गर्ने सोचका साथ काम भइरहेको गुरुङले बताए।

मोरङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) युवराज कटेलले निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लाभर सुरक्षा सतर्कता उच्च पारिएको जानकारी दिए। उनले सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई उचित ढंगले परिचालन गरिएको छ।

प्रजिअ कटेलले भने, ‘निर्वाचन बिथोल्ने वा मतदान प्रक्रियामा अवरोध गर्ने जोसुकैविरुद्ध सुरक्षा ‘प्रोटोकल’ अनुसार कारबाही गरिने छ। अवाञ्छित गतिविधि भएमा ‘ब्यालेट’ जोगाउन ‘बुलेट’ प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ। त्यसका लागि पनि प्रोटोकलअनुसार सुरक्षा संयन्त्र मिलाइएको छ।’

मोरङमा तीन लाख ९९ हजार ६ सय ८६ पुरुष मतदाता, तीन लाख ८३ हजार तीन सय ५७ महिला मतदाता, सात अन्य गरी सात लाख ८३ हजार ५० मतदाता रहेका छन्।  

६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा तीन सय ६ वटा मतदानस्थल र आठ सय ८८ वटा मतदान केन्द्र कायम गरिएको छ। तीमध्ये ४७ वटा अति संवेदनशील, १२५ वटा संवेदनशील र १३४ वटा सामान्य मतदानस्थल रहेका छन्।

प्रकाशित: २१ फाल्गुन २०८२ ०९:४४ बिहीबार