नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्री गगन थापा लक्षित गर्दै पार्टीभित्र गाली गलौचको संस्कार विकास गरेको आरोप लगाएका छन्। बुधबार बिपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै महतले यस्तो बताएका हुन्।
‘सबै कुराको दोष सभापतिमा र अहिले सभापति स्वास्थ्यका कारण म डे टू डे गर्दिनँ भनेपछि अब सभापतिबाट कहाँ आएछ भने यी चाहिँ सात जना दश जना फटाहा भनेर सामाजिक सञ्जालमा,’ महतले भने।
आफू सामाजिक सञ्जालमा न कसैप्रति नराम्रो बोल्ने न कसैलाई बोल्न प्रेरित गर्ने उनले बताए। ‘छन् नि त साथीभाइहरू नेविसंघदेखि राजनीति गर्दै आएको। माया गर्ने साथीभाइ छन् नि, भन्यो भने लेख्छन् नि। ए हुँदैन है भन्छु,’ उनले भने।
तर, आफूले बोल्ने बित्तिकै एक दुई सय जना पार्टी भित्रकै ‘यही बदमास, चोर फटाहा, यिनीहरूले सके’ भनेर निरन्तर आउने उनले बताए। उनले भने, ‘जो मान्छेहरूलाई पार्टी कसरी चलेको छ थाहा छैन। ककसको भूमिका के छ भन्ने पनि थाहा नभएका मान्छेहरूलाई प्रयोग गरेर अट्याक भएको भयै छ।’
पार्टीभित्रै गाली गलौचको बौछार गराएर त्यही संस्कृति बसाल्ने काम भइरहेको महतले दाबी गरे। ‘व्यक्तिवादी, निकै व्यक्तिपरक। म जसरी पनि हुनुपर्छ। नो म्याटर ह्वाट! डजन्ट म्याटर। यी विचार, सिद्धान्त त भन्ने कुरा हुन्,’ उनले भने, ‘म हुनुपर्यो। त्यसका लागि जहाँ जे गरे पनि भ्यालिड भन्ने मान्यतालाई पार्टीभित्र स्थापित गर्ने हो भने यो पार्टी रहदैन्।’
प्रकाशित: १२ कार्तिक २०८२ १५:१८ बुधबार