राजनीति

आन्दोलनको चेतावनी दिनेलाई प्रदीप पौडेलको प्रतिप्रश्न: कांग्रेस विधान अनुसार चल्दा आन्दोलन गर्छु भन्न मिल्छ?

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित प्रदीप पौडेलले पार्टीका नेताले पार्टीलाई विधान अनुसार चलाउँदा आन्दोलन गर्छु भन्नु उपयुक्त नहुने बताएका छन्।  

सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हाम्रा आदरणीय नेताको सम्मान गर्दै म भन्छु- पार्टी विधान अनुसार चल्यो भने आन्दोलन गर्छु भन्न मिल्छ ?’

पौडेलले परिस्थिति बनाएर मात्रै आफूहरू पार्टी मुख्यालय सानेपा जाने बताएका छन्। निर्वाचन आयोगका पदाधिकारीसँग आन्तरिक छलफल गरेर बाहिरिएका उनले आफूहरू संयमित ढङ्गले अघि बढ्ने बताए।

उनले सञ्चारकर्मीसँग भने,‘पार्टीमा रहेका सबै नेताहरूसँग फेरि सँगै हिँड्नु छ, पार्टी फुटेको होइन, नेतृत्व परिवर्तन भएको हो। सानेपा परिस्थिति बनाएर जान्छौँ।’

पौडेलले विधान भन्दामाथि केन्द्रीय समिति नहुने जिकिर गर्दै ८ सय महाधिवेशन प्रतिनिधिले नाम फिर्ता नलिएको दाबी गरे।

पार्टी नेतृत्वले युवा आवाज र पार्टी भित्र उठेको फरक आवाजलाई नजरअन्दाज गर्दा यो परिस्थिति आएको पनि बताए ।  

उनले भने, ‘लामो बैठक चालएर समय गुजारियो । आदारणीय नेताले विधान नबुझ्नु भएको होइन । हाम्राविरुद्ध को आउला र भन्नुभयो । यी विषयमा उहाँहरूले नजरअन्दाज गर्दा हामीले विधानलाई सच्याउन र विधि अनुसार सञ्चालन हुन अघि बढेको हो ।’

 

प्रकाशित: २ माघ २०८२ १६:३३ शुक्रबार