नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आफूमाथि उठेका प्रश्नहरूको तथ्यगत जवाफ दिन आग्रह गर्दै पत्रकार र सांसदप्रति गरिएको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया जनाउँदै ज्ञवालीले अर्थमन्त्रीको आलोचना गर्ने सञ्चारमाध्यमहरूलाई ‘खोस्टा’ भन्न नमिल्ने बताए । उनले भने, ‘कतिपय सीमाहरू होलान्, तर मिडियाहरू लोकतन्त्रका पहरेदार हुन् ।’
उनले आर्थिक विधेयकमा गरिएको परिवर्तनका कारण नै अर्थमन्त्रीमाथि प्रश्न उठेको उल्लेख गर्दै संसदको अवमूल्यन हुने गरी ‘नीतिगत सेटिङ’ गरिएको आरोप लागेको बताए । यो परिवर्तनले राजस्व संरचनामा ठूलो प्रभाव पारेको र त्यसको लाभ सीमित व्यक्ति वा घरानाले पाएको दाबीसमेत उनको छ।
ज्ञवालीले अर्थमन्त्रीले उठेका प्रश्नहरूको तथ्यगत जवाफ दिनुको सट्टा व्यक्तिगत आरोपमा उत्रिएको टिप्पणी गरे । पत्रकारहरूलाई ‘माइक्रोसफ्ट वर्ड चलाउन नजानेका’ भन्दै उपहास गरिएको र आलोचक सांसदहरूलाई धम्कीपूर्ण शैलीमा प्रस्तुत भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् ।
अर्थमन्त्री वाग्लेको पछिल्लो अभिव्यक्तिपछि आर्थिक विधेयक र करसम्बन्धी विषयमा राजनीतिक बहस थप चर्किएको छ।
प्रकाशित: २९ जेष्ठ २०८३ १५:५६ शुक्रबार