राजनीति

मैले सुशीलालाई प्रधानमन्त्री बनाउन सिफारिस गरेको छैन, प्रचण्डले भयानक झुट बोले: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस गरेको भन्ने प्रचण्डको भनाइ झुट भएकाे बताएका छन्।

आइतबार सम्पादकहरूसँगको संवादमा ओलीले भने, ‘यो अन्तरिम सरकार संविधान अन्तर्गत बनेको होइन। मैले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस गरेको छैन।’

उनले आफूले राष्ट्रपतिलाई गरेको सिफारिसको व्यहोरा पढेर सुनाउँदै त्यसमा कतै पनि सुशीला कार्की वा अन्य कुनै व्यक्तिको नाम उल्लेख नभएको स्पष्ट पारे।

प्रचण्डले आफूसँग प्रमाण, कागज र सिफारिसको प्रति नै भएको दाबी गरेको उल्लेख गर्दै ओलीले त्यसलाई झुटो आरोप भएको बताए।

आफ्नो सिफारिसको भाषाबारे प्रस्ट्याउँदै ओलीले भने, ‘मेरो सिफारिसको भाषा के छ भने, ‘वर्तमान असहज र असाधारण अवस्था उत्पन्न भएको परिस्थितिमा, परिस्थितिलाई नियन्त्रण गरेर संविधान र लोकतान्त्रिक परिपाटी र शान्तिपूर्ण स्थितिमा फर्काउनुपर्ने आवश्यकता भएकोले संविधान र लोकतान्त्रिक प्रणाली, प्रक्रिया भित्रैबाट खोजिनुपर्ने भएकोले समाधान खोज्नका लागि राष्ट्रपति संविधानको रक्षक र पालक भएको हुनाले संविधानभित्रबाट अहिलेको परिस्थितिको उपयुक्त निकासका लागि आवश्यक कदम चाल्न सिफारिस गर्दछु।’

उनले थपे, ‘यसमा सुशीला कार्की सुन्नुभयो कतै ?’

उनले आफूले संसद् बाहिरबाट प्रधानमन्त्री बनाउनुपर्छ भनेर कहिल्यै नभनेको तर संसद् जीवितै रहेको अवस्थामा संविधान संशोधन गरेर पनि निकास निकाल्न सकिने विकल्प हुँदाहुँदै संसद् विघटन गरिएको आरोप लगाए।

‘त्यो अधिकार त संसद्‌सँग थियो नि,’ उनले भने।

प्रकाशित: २ कार्तिक २०८२ १५:४५ आइतबार