राजनीति

प्रचण्ड भन्छन्: रास्वपा सरकारले मधेस र मधेसी जनतामाथि प्रहार गर्‍यो

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले मधेस र मधेसी जनतामाथि पहिलो प्रहार गरेको टिप्पणी गरेका छन्।

शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले मधेसी जनताले आशावादी भएर रास्वपालाई मत दिए पनि त्यसको सबैभन्दा ठूलो पीडा अहिले मधेस र मधेसी जनताले नै भोग्नुपरेको बताए।

सरकारले गरिब, मजदुर र किसानमाथि नै प्रहार गरिरहेको आरोप लगाउँदै उनले मधेससँग जोडिएका भारततर्फका सीमाको रक्षा गर्दै आएका मधेसी जनताले भारतबाट सामान ल्याउँदा कर तिर्नुपर्ने सरकारी नीतिप्रति आपत्ति जनाए।

प्रधानमन्त्री बालेन्द्र साहले एक अभिव्यक्तिमा नेपालले भारतको सीमा मिचेको भनेको विषयसमेत मधेसी जनतालाई लक्षित भएको प्रचण्डको दाबी छ। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले मधेसी जनताको अपमान गरेको उनले बताए।

‘मधेसको छोरो प्रधानमन्त्री हुन्छ’ भन्ने विश्वासका साथ मधेसी जनताले दिएको मत उल्टै उनीहरूमाथि प्रहारका रूपमा परिणत भएको प्रचण्डले बताए।

सरकारको बजेट र नियुक्तिसमेत मधेसविरोधी रहेको उनको आरोप छ। समय बित्दै जाँदा मधेसका जनताले आफूहरूले गलत ठाउँमा मत दिएको महसुस गर्दै त्यसको समीक्षा गर्ने उनले दाबी गरे।

प्रचण्डले आगामी दिनमा जेनजी युवाहरूले समेत सरकारको विरोधमा फेरि विद्रोह गर्ने दाबी गरे।

सरकार मधेसी जनताविरोधी रहेको महसुस भएकै कारण रास्वपाकै सांसदहरू सरकारको विरोधमा उभिन थालेको उनको भनाइ छ। मधेसका मन्त्रीहरूलाई अपमान गरेर हटाइएको दाबी गर्दै उनले त्यसको परिणाम मधेसी जनताले बुझ्ने र चाँडै सरकारविरुद्ध उत्रिने बताए।

‘मधेसी जनताले अब सबै कुरा बुझ्नेछन्। मधेसका मन्त्रीलाई अपमान गरेर हटाउनेदेखि बजेट र नियुक्तिसम्मका विषयमा सरकारले गरेको व्यवहारको समीक्षा मधेसले गर्नेछ,’ प्रचण्डले भने।

प्रकाशित: २६ भाद्र २०८३ १८:०३ शुक्रबार