राजनीति

ओलीसहित सबै वामपन्थीलाई प्रचण्डको एकताको प्रस्ताव, भन्छन्: देश असाधारण संकटमा छ

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित सबै वामपन्थी शक्तिलाई एकताबद्ध हुन आह्वान गरेका छन्।

मंगलबार पेरिसडाँडामा नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच आयोजित एकता घोषणासभालाई सम्बोधन गर्दै दाहालले मुलुक असाधारण संकटमा रहेको भन्दै कम्युनिष्ट, देशभक्त र लोकतन्त्रवादी शक्तिबीच एकता आवश्यक रहेको बताएका हुन्।

उनले विगतका सहकार्य र एकताका क्रममा भएका उतारचढावबाट पाठ सिक्दै आग्रह, पूर्वाग्रह र संकीर्णताभन्दा माथि उठेर राष्ट्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

अध्यक्ष दाहालले एमाले अध्यक्ष ओली, मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’लगायत विभिन्न कम्युनिष्ट धारमा रहेका नेताहरूलाई एकताको प्रक्रियामा सहभागी हुन आग्रह गरे।  

‘आज देश असाधारण संकटमा छ। यो बेला हामी सबैले आफ्नो सोचाइ, बुझाइ र भावनालाई अझ फराकिलो बनाउनुपर्छ। सबै खालका आग्रह, पूर्वाग्रह र संकीर्णताबाट मुक्त भएर राष्ट्रलाई प्राथमिकतामा राखी एकताबद्ध हुनु आजको आवश्यकता हो,’ दाहालले भने।

उनले नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको एकतालाई कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध गर्ने अभियानको नयाँ कडीका रूपमा व्याख्या गरे।

यो एकता अन्तिम नभएको उल्लेख गर्दै प्रचण्डले विगतमा माओवादी र एमालेका विभिन्न धारमा रहेका समूहसहित अन्य कम्युनिष्ट शक्तिलाई पनि एकताबद्ध गर्ने जिम्मेवारी बाँकी रहेको बताए।

मुलुकको स्वाधीनताको रक्षा र राष्ट्रिय आवश्यकतालाई केन्द्रमा राखेर सबै वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो।

प्रकाशित: १७ कार्तिक २०८३ १९:१६ मंगलबार