राजनीति

सुशीलाले मुख हेर्दिनँ भन्दा प्रचण्डको चित्त दुखाई: मन चसक्क बिझेको छ

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको भनाइले आफ्नो चित्त दुखेको बताएका छन्। बुधबार पार्टी एकता सभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्। 

‘अन्तरिम सरकारको प्रधानमन्त्री सम्माननीय सुशीला कार्की जी। हामीले उहाँलाई जेन–जीको भावना भनेर आइसकेपछि उहाँकै नेतृत्वमा सरकार बनाउने कुरामा हामीले सहमति जनाएकै हो। र, तुरुन्तै निर्वाचनमा जाने घोषणा पनि गरेकै हो,’ दाहालले भने, ‘कहिलेकाहीँ मिडियामा, मलाई थाहा छैन, त्यो साँचो हो कि झुटो हो।’ 

आफूले चुनावको वातावरण बनाउन खेलेको भूमिका पनि प्रधानमन्त्री कार्कीले नबुझेको आफूलाई लागिरहेको उनले गुनासो गरे। ‘हामीले चुनावको माहौल बनाउनका लागि सुशीला जीलाई प्रधानमन्त्री बनाउनका लागि, संविधान बचाउनका लागि खेलेको भूमिका जसरी हेर्नुपर्थ्यो हेरिएको छैन कि?,’ दाहालले भने। 

अझ उल्टो आफ्नै मुख हेर्दिनँ भनेको सुन्दा मन दुखेको दाहालले बताए। उनले भने, ‘अझ उल्टो फलाना फलाना नेतालाई त म हेर्नै मन लागेको छैन भन्नुभयो रे। भन्दाखेरि चसक्क बिझेको त छ। मलाई थाहा छैन प्रधानमन्त्रीले त्यसो भन्नुभएको हो कि होइन।’ 

सबै मिलेर लोकतन्त्र, संविधानको रक्षा गर्ने र निर्वाचन गर्ने उनले बताए। 

प्रकाशित: १९ कार्तिक २०८२ १८:२२ बुधबार