नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालेन शाह नेतृत्वको सरकार अपरिपक्व र दिशाहीन बनेको आरोप लगाउँदै संविधान, गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि राजनीतिक दलहरूबिच बृहत् सहकार्य हुनुपर्नेमा जोड दिएका छन्।
सिंहदरबारमा संसदीय मामिलाका पत्रकारहरूसँगको संवादका क्रममा संयोजक प्रचण्डले वर्तमान सरकार कम्पास हराएको जहाज जस्तै भएको बताए।
यद्यपि, दसैं-तिहारलगत्तै सरकार ढल्छ भन्ने दाबीलाई भने उनले हावादारी भनेका छन्। रास्वपा सभापति रवि लामिछानेमा पछिल्लो समय राजनीतिक परिपक्वता बढेको महसुस गरेको बताउँदै उनले सामाजिक सञ्जाल र आन्दोलनबाट बनेको रास्वपाको जनाधार दीर्घकालीन सङ्गठनमा रूपान्तरण हुन सहज नरहेको टिप्पणी गरे।
सरकारले अघि सारेको संविधान संशोधनको बहसप्रति आपत्ति जनाउँदै प्रचण्डले प्रस्तावना नै फेर्ने प्रयास संशोधन नभई संविधान पुनर्लेखन भएको बताए।
अभ्यासका आधारमा केही प्रावधान परिमार्जन गर्न सकिने तर धर्मनिरपेक्षता, सङ्घीयता, समावेशिता र समानुपातिक प्रतिनिधित्वजस्ता उपलब्धि उल्ट्याउने प्रयास भए ‘खतराको घन्टी’ बज्ने उनले चेतावनी दिए।
संविधान प्राप्तिपछि राजनीतिक दलहरू दीर्घकालीन सोचभन्दा सरकार बनाउने-गिराउने र सत्ता केन्द्रित राजनीतिमा अल्झिएको स्वीकार गर्दै प्रचण्डले दलहरूले आफ्नै कमजोरीको समीक्षा गर्नुपर्ने बताए।
अबको राजनीतिक मैदान सडक र आमसभाभन्दा सामाजिक सञ्जाल, एआई र डिजिटल प्लेटफर्म बनेको भन्दै उनले डिजिटल प्रविधिको शक्ति बुझ्न दलहरूले ढिलाइ गरेको उल्लेख गरे।
यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सहकार्य समयक्रमसँगै स्पष्ट हुने र कांग्रेसलाई माइनस गरेर अघि बढ्ने पक्षमा आफूहरू नरहेको उनले स्पष्ट पारे।
देशको राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ता नै अप्ठ्यारोमा परे अधिकारको कुनै अर्थ नरहने भन्दै प्रचण्डले राष्ट्रिय एकता र लोकतान्त्रिक सहकार्यबाट देशलाई सही दिशामा फर्काउनुपर्नेमा जोड दिए।
प्रकाशित: २५ श्रावण २०८३ २१:५४ सोमबार



