नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको वर्तमान राजनीतिक र आर्थिक बेथितिविरुद्ध आफ्नो पार्टी अब सशक्त रूपमा सडकमा ओर्लिने घोषणा गरेका छन्।
मंगलबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको पार्टी प्रवेश तथा समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले युवा पुस्ता र मजदुरहरूको साथ लिएर सरकारलाई खबरदारी गर्ने बताएका हुन्।
आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी आएका मजदुर तथा युवाहरूलाई स्वागत गर्दै दाहालले नेकपाप्रति नयाँ पुस्ताको आकर्षण ह्वात्तै बढेको दाबी गरे।
‘अस्ति भर्खरै एक हजारभन्दा बढी ‘जेन–जी’ युवाहरू हाम्रो पार्टीमा जोडिएका छन्, आज मजदुर साथीहरू त्यसरी नै आउनुभएको छ,’ दाहालले भने, ‘सुरुमा युवाहरूले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा हामीले समर्थन गरेका थियौँ। अहिले ती युवाहरूले बुझ्दै गएका छन् कि उनीहरूको असली अभिभावक नेपाली कम्युनिष्ट पार्टी नै रहेछ।’
उनले विदेशिएका युवा र स्वदेशमै रहेका नयाँ पुस्तालाई गोलबन्द गर्दै पार्टीलाई ‘अब्बल र एक नम्बर’ बनाउने दाबी समेत गरे।
सम्बोधनका क्रममा दाहाल वर्तमान सरकारमाथि निकै आक्रामक रूपमा प्रस्तुत भए। आफू प्रधानमन्त्री हुँदा वैदेशिक रोजगारीमा रहेका र अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको स्मरण गर्दै उनले वर्तमान सरकारले उक्त कोषको रकम सदुपयोग गर्न नसकेको आरोप लगाए।
‘मैले विदेशमा रहेका श्रमिकको माग अनुसार नै सामाजिक सुरक्षा कोषको घोषणा गरेको थिएँ। अहिले खुसीको कुरा कोषमा झन्डै डेढ खर्ब रकम जम्मा भइसकेको छ,’ दाहालले भने, ‘तर दुखको कुरा, सरकारले नीति नबनाउँदा त्यो रकम ‘फ्रिज’ भएर बसेको छ। न त त्यसले रोजगारी सिर्जना गर्यो, न त उत्पादन बढायो।’
उनले ‘रिटर्नी’ युवाहरूलाई स्वदेशमै उद्यम गर्नका लागि आफूले बजेटमा अर्बौं रकम छुट्याएको भए पनि वर्तमान सरकारले ती सबै कार्यक्रम खारेज गरेर युवा विरोधी काम गरेको आरोप लगाए।
‘विदेशबाट फर्केर केही गर्छु भन्ने युवाको सपनामा यो सरकारले चिसोपानी खन्याइदियो,’ उनले भने।
दाहालले पार्टी एकता र जनपरिचालनका लागि आगामी १२ गतेदेखि देशव्यापी अभियान सुरु हुने जानकारी दिए।
धनगढीबाट सुरु हुने विशाल सभाहरू विराटनगरसम्म पुगेर टुंगिने उनले बताए। ‘हामी १२ गतेबाटै सडकमा निस्किँदै छौँ। यो अभियान निर्वाचनको वातावरण बनाउन र सरकारलाई गलत काम सच्याउन खबरदारी गर्नका लागि हो,’ उनले भने।
उनले पर्सी ११ गते जसपाको एउटा ठूलो हिस्सा र अन्य पार्टीहरूसमेत नेकपामा समाहित हुन लागेको बताउँदै विचार मिल्ने शक्तिहरूलाई एकताबद्ध बनाएर ‘समाजवादी क्रान्ति’ को नेतृत्व लिने उद्घोष गरे।
प्रकाशित: ९ मंसिर २०८२ १५:०९ मंगलबार