राजनीति

प्रभु साह भन्छन्: नयाँहरुले पनि जनतालाई ढाँटे

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आफूलाई नयाँ शक्ति भन्नेहरूले जनतालाई भ्रममा पारेको बताएका छन् । उनले मुलुकको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्था झन् दयनीय बन्दै गएको भन्दै अग्रगामी शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्। 

सात राजनीतिक दलले घोषणा गरेको ‘अग्रगामी मोर्चा’ कार्यक्रमलाई सम्बोधन गर्दै साहले विगतका राजनीतिक आन्दोलनबाट व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा अपेक्षित सुधार आउन नसकेको बताए। उनले २०४६ सालको जनआन्दोलन, सशस्त्र द्वन्द्व तथा मधेस आन्दोलनमा ठूलो बलिदानी भए पनि जनताले अपेक्षा गरेको सुखद् दिन अझै आउन नसकेको बताए।  

‘देश निरन्तर संकटको यात्रामा छ। २०४६ सालको आन्दोलन, जनयुद्ध र मधेस आन्दोलनका माध्यमबाट ठूलो बलिदानी त भयो, तर जनताले अपेक्षा गरेको सुखद् दिन अझै आउन सकेको छैन,’ साहले भने। मुलुकलाई ‘फेक शासन’बाट मुक्त गर्दै असल शासनतर्फ लैजान, नेपालको स्वाधीनता बलियो बनाउन र वास्तविक लोकतन्त्रको रक्षा गर्न मोर्चा निर्माण गरिएको उनको भनाइ थियो।  

‘हाम्रो यो मोर्चा कुनै मन्त्रालय वा शक्ति बाँडफाँडका लागि बनेको होइन। यो त मुलुकलाई फेक शासनबाट मुक्त गरी असल शासनतर्फ लैजान, स्वाधीन नेपाल बनाउन र वास्तविक लोकतन्त्रको रक्षाका लागि निर्माण गरिएको हो,’ उनले भने। 

उनले आफूलाई नयाँ राजनीतिक शक्ति भनेर प्रस्तुत गर्नेहरूले चुनावअघि सुशासन र प्रभावकारी सेवा प्रवाहका ठूला आश्वासन दिए पनि सत्तामा पुगेपछि नागरिकले झन् सास्ती भोग्नुपरेको बताए। साहले राजनीतिक परिवर्तनलाई जनताको दैनिक जीवनसँग जोड्न नसकिएसम्म व्यवस्था परिवर्तनको मात्रै अर्थ नहुने बताए। 

प्रकाशित: २३ श्रावण २०८३ १६:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App