राजनीति

पोर्चुगलकी विदेश राज्यमन्त्री जाभियर बुधबार नेपाल आउने

पोर्चुगलकी विदेश राज्यमन्त्री (विदेश मामिला तथा सहयोग सचिव) डा. आना इसाबेल जाभियर तीन दिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएकी छन्। 

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी बुधबार नेपाल आउन लागेकी हुन्। आगामी मे १ सम्म हुने यस भ्रमणका क्रममा उनले नेपाल र पोर्चुगलबीचको द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा उच्चस्तरीय छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  

भ्रमण तालिका अनुसार अफ्रिल ३० तारिखमा उनले परराष्ट्र सचिव राईसँग द्विपक्षीय वार्ता गर्नेछिन्। सोही दिन उनले परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यी भेटघाटमा दुई देशबीचको विद्यमान सम्बन्धको समीक्षा गर्नुका साथै सहयोगका नयाँ क्षेत्रहरू पहिचान गर्ने विषयमा छलफल हुनेछ।

प्रकाशित: १५ वैशाख २०८३ १९:३४ मंगलबार