जेनजी अभियन्ता रक्षा बमले सत्ता समीकरणका आधारमा प्रदेश सरकार फेरबदल गर्ने राजनीतिक अभ्यासले कर्मचारीहरूको तलबदेखि विकास–निर्माणका कामसमेत प्रभावित हुने बताएकी छिन्।
आइतबार सामाजिक सञ्जालमार्फत बमले कांग्रेस र एमालेबीचको सम्भावित सत्ता समीकरणका आधारमा प्रदेश सरकार परिवर्तनको चर्चाको विषयलाई लिएर यस्तो बताएकी हुन्। उनले विशेषगरी सुदूरपश्चिम प्रदेश अहिले बजेट अभावको अवस्थाबाट गुज्रिरहेको भन्दै यस्तो अवस्थामा सरकार परिवर्तनको राजनीतिक खेलमा दलहरू केन्द्रित हुनु दुर्भाग्यपूर्ण भएको बताएकी छन्।
‘अहिले फेरि कांग्रेस–एमाले समीकरणका आधारमा प्रदेश सरकार फेरबदलको चर्चा चलिरहेको छ। यता सुदूरपश्चिम प्रदेश बजेट शून्यताको अवस्थाबाट गुज्रिरहेको छ। कर्मचारीहरूको तलबदेखि विकास–निर्माणका कामसमेत प्रभावित हुने देखिएको छ। जनताका समस्याभन्दा सत्ता समीकरण र सरकार परिवर्तनको राजनीति तपाईंहरूको प्राथमिकतामा पर्यो ?’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।
बमले प्रदेश सरकारको अस्तित्व र संघीय व्यवस्थामाथि प्रश्न उठ्न थालेको अवस्थामा पनि राजनीतिक दलहरू सत्ता अंकगणितमै अल्झिएको बताएकी छिन्।
उनले लेखेकी छन्, ‘आज प्रदेश सरकारको अस्तित्व र संघीयता जस्तो उच्चतम राजनीतिक व्यवस्थाको औचित्यमाथि नै प्रश्न उठ्न थालेको बेला तपाईंहरू अझै अंकगणितमै व्यस्त हुनुहुन्छरु माननीयज्यूहरू, संघीयतालाई खतरा तपाईंहरूकै राजनीतिबाट छ।’
प्रकाशित: ३ श्रावण २०८३ ११:३५ आइतबार