राजनीति

देशमा राजनीतिक नेतृत्व असफल भइसक्यो: मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री मुकुल ढकालले देशमा राष्ट्रिय एकता र शान्ति कायम गर्न राजसंस्था फर्काउनु बाहेक अरु विकल्प नरहेको दाबी गरेका छन्। सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गर्दै उनले हालैका दुःखद घटनाले मानिसलाई विभिन्न ध्रुवमा विभाजित गरेको र अराजकताबाट सत्ता कब्जा गर्ने प्रवृत्तिले देशलाई लामो अस्थिरतातर्फ धकेल्न सक्ने बताए।

ढकालले लेखे, ‘जे भयो आवश्यक थियो, तर आवश्यकता भन्दा बढी पनि भयो। दुखद घटना घटे। मानिस विभिन्न ध्रुवमा विभाजित भएका छन्, राष्ट्रिय एकता र शान्ति आजको पहिलो आवश्यकता हो।’ उनले थपे, ‘अबको बाटो लामो अस्थिरतामा जान सक्छ, अराजकताबाट सत्ता कब्जा गर्ने प्रवृत्ति पटकपटक दोहोरिने खतरा छ।’

उनले पूर्वराजा ज्ञानेन्द्रको फागुनको सम्बोधनलाई उद्धृत गर्दै भने, ‘राष्ट्र जोगाउने हो भने, हामीलाई साथ दिनुहोस्।’ ढकालका अनुसार, उक्त सम्बोधनको खिल्ली उडाइए पनि अब राष्ट्र जोगाउन राजसंस्था फर्काउनु अपरिहार्य भएको छ। उनले भने, ‘मान या नमान, नेपालीमा वृहत्तर एकता र देशमा शान्ति कायम गर्दै, फेरि शून्यबाट यात्रा गर्नका लागि राजसंस्था फर्किनु बाहेकको विकल्प अब देशसँग रहेन।’

प्रकाशित: २५ भाद्र २०८२ १६:४७ बुधबार