राजनीति

राजनीतिक र सामाजिक एकता नै कर्णालीको शक्ति हो : मुख्यमन्त्री

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले प्रदेश विकास र समृद्धिको आधार स्तम्भ नै राजनीतिक तथा सामाजिक एकता भएको बताएका छन्।  

नेकपा (एमाले) सुर्खेत जिल्ला कमिटीको आठौँ जिल्ला कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले कर्णाली पछाडि पर्नुको मुख्य कारण इच्छाशक्तिको कमी नभइ एकतामा देखिएको कमजोरी भएको बताए ।

मुख्यमन्त्री कडेलले पार्टीभित्र र बाहिर देखिने विभाजनात्मक सोचका कारण विकास प्रक्रियामा अगाडि बढ्न नसकेको बताउँदै अब प्रदेश विकासलाई गति दिन सबै पक्ष एकै उद्देश्यका साथ एकै ठाउँमा उभिनुपर्नेमा जोड दिए।  

उनले भने, ‘कर्णालीलाई अगाडि बढाउने तागत एउटै हो, एकता । हामी अलग–अलग भएर होइन, एउटै आवाज र साझा दृष्टिकोणका साथ अघि बढेमा मात्र कर्णालीले छलाङ मार्न सक्छ।’  

एमालेले पछिल्ला चुनौतीलाई अवसरमा बदल्ने उद्देश्यका साथ जनताको घर–घरमा पुगेको छ। तर वरिपरिको मान्छे नहेरी, आफ्नै हितलाई मात्र प्राथमिकता दिने व्यवहारले संगठन र प्रदेश दुवै कमजोर बन्दै गएको उनले टिप्पणी गरे।

बैठकमा उनले हालको राजनीतिक परिस्थिति सहज नभएको उल्लेख गर्दै कठिन अवस्थालाई सहज बनाउन उपयुक्त निर्णय र सही नेतृत्व छनोट गर्नुपर्नेमा जोड दिए।

उनले सामाजिक सञ्जालको प्रयोगमा पनि जिम्मेवार बन्न नेतादेखि कार्यकर्तासम्म सबैलाई आग्रह गरे। कडेलले भने, ‘सामाजिक सञ्जाल अभिव्यक्तिको माध्यम मात्र होइन, संगठनलाई बलियो वा कमजोर पार्ने उपकरण पनि हो। त्यसैले सावधानीपूर्वक प्रयोग गर्नुपर्छ।’

 

प्रकाशित: ६ मंसिर २०८२ १८:४४ शनिबार