राजनीति

मेरो कार्यकालको छोटो समयमै नीतिगत सुधार र महत्वपूर्ण उपलब्धि भयो : मन्त्री श्रेष्ठ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी मन्त्री श्रद्धा श्रेष्ठले आफ्नो छोटो कार्यकालमै नीतिगत सुधार, सेवाप्रवाह तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएकी छन्।

सोमबार प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले छोटो समयमा अनुभव, सिकाइ र उपलब्धिले भरिएको समय रहेको बताइन्। उनले सामाजिक क्षेत्रका जटिलता, संस्थागत समन्वय र सेवाप्रवाह सुधारका चुनौतीलाई नजिकबाट अध्ययन गर्दै विभिन्न सुधारात्मक पहल अघि बढाइएको समते बताइन्।

प्रगति विवरण अनुसार पछिल्लो तीन महिनामा मन्त्रालयले नीतिगत सुधारलाई प्राथमिकतामा राख्दै मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति २०८२, राष्ट्रिय लैङ्गिक लेखापरीक्षण कार्यविधि २०८२, परियोजना सहजीकरण कार्यविधि २०८२ लगायतका महत्वपूर्ण नीतिहरू स्वीकृत गरी कार्यान्वयनमा ल्याएको प्रगति विवरणमा उल्लेख छ।

त्यसैगरी, महिला उद्यमी समुन्नति पुरस्कार कार्यविधि, बालबालिका उत्तरदायी बजेट संकेत प्रणाली, मर्यादित महिनावारी निर्देशिका, लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय कार्ययोजना लगायतका मस्यौदा तयार पारिएको उनले बताइन्।

मन्त्रालयले नुवाकोटमा बाल सुधारगृह स्थापना, भक्तपुरमा दिवा शिशु स्याहार केन्द्र स्थापना निर्णय तथा दुर्गम क्षेत्रका १९ जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार लगाएतका काम गरेको उनको भनाइ छ।

यस अवधिमा ज्येष्ठ नागरिकका लागि हटलाइन सेवा सुरु, अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचयपत्रको डिजाइनमा एकरूपता कायम गर्ने पहल, तथा दृष्टिविहीन व्यक्तिका लागि ब्रेल प्रयोगको सुरुआत गरिएको विवरणमा राखिएको छ। मन्त्रालयले समाज कल्याण परिषद मार्फत डिजिटल सेवा प्रवाह प्रणाली सुरु गर्दै संस्थागत पारदर्शिता र प्रभावकारिता अभिवृद्धि गरिएको उल्लेख गरिएको छ।

अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालले सक्रिय सहभागिता जनाउँदै संयुक्त राष्ट्र संघ अन्तर्गत ‘महिलाको अवस्थासम्बन्धी आयोग’ को ७०औँ अधिवेशनमा सहभागिता जनाएको थियो, जहाँ लैङ्गिक समानता र महिला सशक्तीकरणका विषयमा नेपालको धारणा प्रस्तुत गरिएको थियो।

प्रकाशित: १० चैत्र २०८२ ०९:०४ मंगलबार