राजनीति

सिंहदरबार प्रवेश गर्न खोज्ने एमाले कार्यकर्तामाथि प्रहरीको लाठीचार्ज

नेकपा (एमाले) का कार्यकर्ताहरू निषेधित क्षेत्र तोडेर सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा सडक प्रदर्शन गरिरहेका उनीहरू दक्षिण गेटतर्फ अघि बढ्दै गर्दा सुरक्षाकर्मीसँग झडप भएको हो।

शनिबार दिउँसो बबरमहल क्षेत्रमा टायर बालेर प्रदर्शन गरिरहेको समूह आक्रोशित हुँदै देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारतर्फ अघि बढेको थियो।

त्यसलगत्तै निषेधित क्षेत्रको सुरक्षाका लागि खटिएका प्रहरीले भिडलाई रोक्न खोज्दा धकेलाधकेल भएको थियो। प्रदर्शनकारीहरू जबरजस्ती अघि बढ्न खोजेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको हो।

प्रहरीको बल प्रयोगपछि उक्त क्षेत्रको अवस्था थप तनावग्रस्त बनेको छ। लाठीचार्जबाट केही प्रदर्शनकारी घाइते भएका छन्। भिड तितरबितर भए पनि आसपासका क्षेत्रमा एमाले कार्यकर्ताहरूले सरकारविरुद्ध कडा नाराबाजी गरिरहेका छन्।

अध्यक्ष ओलीको रिहाइको माग गर्दै प्रदर्शन उग्र बन्दै गएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सिंहदरबार वरपर र काठमाडौंका मुख्य सडकहरूमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ।

प्रहरीको बाक्लो उपस्थिति छ भने सो क्षेत्रको यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

प्रकाशित: १४ चैत्र २०८२ १६:२७ शनिबार