राजनीति

पोखरेलको उम्मेदवारी घोषणा थाहा छैन: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको जानकारी नभएको बताएका छन्। उनले बिहीबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा भने, ‘उहाँ (ईश्वर पोखरेल) ले मलाई अध्यक्षको उम्मेदवार हुँ भन्नुभएको छैन, बाहिर कता भन्नुभयो होला, मलाई थाहा छैन।’

पोखरेलले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा ११औं महाधिवेशनमा आफू अध्यक्ष पदका लागि उम्मेदवार हुने कुरा अध्यक्ष ओलीलाई जानकारी गराएको बताए थिए। त्यसको भोलिपल्टै ओलीले रमाइलो पाराले पोखरेलले यस विषयमा आफूलाई जानकारी नगराएको बताएका हुन्।

ओलीले एमालेमा लोकतन्त्र नभएको भन्ने टिप्पणीको खण्डन गर्दै पार्टीभित्रको लोकतन्त्र नहराएको बताए। ‘पार्टीमा हराइन्छ, हारिन्छ, जसरी होस् म हारें भनेर घोषणा गरेपछि मैले कुनै प्रकारको सिकायत गरिनँ। आठौंमा हराइएँ, नवौंमा लडेर जितें। पार्टीभित्र लोकतान्त्रिक अभ्यासको वकालत मैले नै गरेको हुँ’, ओलीले पोखरेलप्रति लक्षित गर्दै भने।

ओलीले ११औं महाधिवेशनमा भरसक सहमतिबाट नेतृत्व चयन गरिने र सहमति हुन नसके करकाप नगरिने प्रस्ट पारे। सहमति नभए स्वच्छ प्रतिस्पर्धा हुने उनको भनाइ थियो। उनले प्रतिनिधिहरूले विश्वास गरेमा आफू फेरि पार्टी अध्यक्ष हुने बताए। ‘म थपिनेवालामा पर्दिनँ, निरन्तरतासम्म हुन सक्छ, प्रतिनिधिले पत्याएनन् भने मेरो पनि हट्ने सम्भावना हुन सक्छ, लोकतान्त्रिक पार्टीमा आग्रह, जिद्दी र हठले हुँदैन’, उनले भने।

ओलीले छाडे अध्यक्ष पदमा सहमति हुन्छ भनेर पूर्वसर्त राख्नेहरूसँग आफ्नो सहमति नहुने उनले प्रस्ट पारे। ‘म दबाबमा काम गर्ने मान्छे होइन। उहाँ (पोखरेल) ले बाहिरबाहिर उम्मेदवारी घोषणा गरेर हिँड्नुभएको छ। मसँग कुरा गर्नुप¥यो नि। मसँग त कुरा गर्नुभएको छैन,’ ओलीले भने। पोखरेलले ओलीले छाडेर अरू कसैको नाम अध्यक्षमा प्रस्ताव गरे आफू पनि पछि हट्नसक्ने बताएका थिए।

पार्टीका वरिष्ठ उपाध्यक्ष पोखरेलले ओलीले आयोगमा गएर बयान दिनुपर्छ भनेर दिएको अभिव्यक्तिको पनि उनले प्रतिवाद गरे। ओलीले पोखरेलको त्यो अभिव्यक्तिलाई ‘वैरभाव’ को संज्ञा दिए। ‘उहाँलाई के भएको छ, किन सञ्चो भएन, मलाई थाहा भएन। बयान दिन जाने, नजाने मेरो कुरा हो। के गर्नुपर्छ त्यो मलाई थाहा छ’, ओलीले भने। पोखरेलले बुधबार अध्यक्ष ओलीले जेनजी आन्दोलनका क्रममा भएका घटना जाँचबुझ गर्न गौरीबहादुर कार्की नेतृत्वमा बनेको आयोगलाई तत्कालीन प्रधानमन्त्रीको हैसियतले बयान दिनुपर्ने बताएका थिए। ओलीले त्यो आयोगमा बयान दिन आफू जानुपर्ने कानुनी व्यवस्था नभएको जिकिर गरे।

ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई समय फागुन २१ मा पुगेर नरोकिने बताउँदै २२ गते पनि आउने कुरा ख्याल गर्न सुझाए। ‘ध्यान राखेर र होस सम्हालेर चल्न म उहाँहरूलाई आग्रह गर्छु,’ ओलीले भने।

ओलीले प्रतिनिधिसभा पुनःस्थापनालगायत राष्ट्रिय राजनीतिका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा कुराकानी भएको बताए। एमाले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा रहेको पनि उनले प्रस्ट पारे। अदालतका कतिपय फैसलामा चित्त नबुझे पनि मान्दै आएको सन्दर्भ उल्लेख गर्दै ओलीले राजनीतिक व्यवस्था र प्रणालीसमेतका विषयमा सरकार र जेनजी प्रतिनिधिका नाममा बुधबार भएको सम्झौतालाई कलाबिहीन नाटकको संज्ञा दिए।

ओलीले अहिलेको सरकारले यस प्रकारको सम्झौता गर्ने म्यान्डेट कहाँबाट पायो भन्ने प्रश्न गर्दै यो सरकार नागपञ्चमीमा घरमा कसैले गोबर लगाएर टाँसिदिएको नागजस्तै भएको टिप्पणी गरे। ‘विघटित प्रतिनिधिसभालाई जनसमर्थन गुमाएको भनेर सम्झौतामा भनिएको छ। त्यो यथार्थ होइन। असान्दर्भिक र अराष्ट्रिय भावना बोकेकाहरुले परिस्थितिलाई विध्वंशका माध्यमबाट आफ्नो कब्जामा लिन खोजेका मात्रै हुन। त्यसकारण यो सरकारलाई यस प्रकारको सम्झौता गर्ने जनादेश छैन’, उनले भने, ‘यो देशमा एमाले र नेपाली कांग्रेसजस्ता पुराना र ठुला दलहरु सक्रिय छन् र आगामी फागुन २१ गतेपछि पनि नेपालको समय छ भन्ने सरकारले बुझ्नुपर्छ। त्यस कुरालाई हेक्का राखेर काम गर्न म आग्रह गर्छु।’

प्रकाशित: २६ मंसिर २०८२ ०६:५० शुक्रबार