राजनीति

पोखरेलको फरक प्रस्ताव दर्ज : टिम नै बनाएर ओलीमाथि ‘काउन्टर’को तयारी

नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा आन्तरिक ध्रुवीकरण तीव्र बन्दै गइरहेको छ। यसले गर्दा महाधिवेशनमा फरक फरक दस्ताबेज प्रस्तुत हुने देखिएको छ। 

महाधिवेशन हलमा सहमतिमै एउटै राजनीतिक प्रस्ताव पेस गर्ने अध्यक्ष केपी शर्मा ओलीको चाहनाविपरीत वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबाट पनि फरक दस्ताबेज पेस हुन लागेको हो। त्यसका लागि पोखरेलले सोमबार पार्टी कार्यालयमा पुगेर आफ्नो दस्ताबेज पेस गरेका छन्।

महाधिवेशन हलमा छलफलका लागि पेस गर्ने गरी उक्त प्रतिवेदन तयार पारिएको एमाले सचिव योगेश भट्टराईले बताए। ‘यो प्रतिवेदन हामी महाधिवेशनमा छलफलका लागि लैजान्छौँ, प्रतिनिधिहरूमाझ वितरण गर्छौँ र उहाँहरूको राय सुझाव लिन्छौँ,’ पोखरेल समूहलाई बलियो बनाउन लागिपरेका भट्टराईले भने। 

तर अध्यक्ष ओलीले यसअघि नै फरक दस्ताबेज पेस गर्न र पढ्न नदिने संकेत गरिसकेका छन्। केही दिनअघि वरिष्ठ उपाध्यक्ष पोखरेलसहितको टोलीले गुन्डु पुगेर ओलीलाई भेटेर फरक दस्ताबेज आउने विषयमा जानकारी गराएका थिए। सो भेटमा पोखरेलले आफू अध्यक्षमा उठ्न जानकारी गराएका थिए। 

त्यतिबेला ओलीले भने फरक मत दर्ज नगर्न पोखरेललाई आग्रह गरेका थिए। महाधिवेशनका विषयमा करिब तीन घण्टा छलफल हुँदा ओलीले देशी विदेशी शक्तिले आफू र एमालेमाथि हमला गरेको जनाउँदै सर्वसम्मत रूपमा आफूलाई अध्यक्षमा स्वीकार गर्नुपर्नेमा जोड दिएका थिए। 

तर पोखरेलले आफूलाई समर्थन गर्न र अभिभावक भएर बस्न ओलीलाई आग्रह गरेका थिए। ११औँ महाधिवेशनमा तेस्रो पटक अध्यक्षमा लड्ने घोषणा गरेका ओलीलाई वरिष्ठ उपाध्यक्ष पोखरेलले टिम नै बनाएर ‘काउन्टर’ दिइरहेका छन्। ओलीले अन्तिम समयमा मात्र टिम बनाउने र धेरै नेतालाई समेट्ने रणनीति लिएका छन्। 

ओलीबाटै अवसर प्राप्त हुने अपेक्षामा रहेका नेताहरूले पोखरेललाई खुलेर साथ दिन सकिरहेका छैनन्। अर्थात् कतिपय नेताहरू अझै यो पक्षमा लाग्ने भनेर खुलिसकेका छैनन्। ओलीले आफूले नाम पढेर सुनाएपछि महाधिवेशन नै सकिने बताइसकेका छन्। तर पोखरेलको टिमले भने पूर्वराष्ट्रपति विद्या भण्डारीको समेत साथ लिएर ओलीलाई चुनौती दिन लागेको हो। पोखरेल पक्षले कुनै हालतमा निर्वाचनमा भाग लिनुपर्ने नीति लिएको छ। त्यसकारण पनि महाधिवेशनमा फरक मत दर्ज गर्ने गरी उक्त टिम अघि बढेको हो।

पोखरेलले पेस गर्ने फरक मतमा जेनजी आन्दोलन (जेनजी विद्रोह) र विध्वंसक आक्रमणपछि दुई थरी अतिवादी विचार प्रस्तुत भएको जनाउँदै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने तर्क अघि सारिएको छ। एक थरीले विद्रोह र विध्वंसको सम्पूर्ण कारक तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एमाले, नेपाली कांग्रेसलगायत प्रमुख राजनीतिक दल र प्रमुख नेताहरू रहेको भनी टिप्पणी भइरहेको पोखरेलको फरक दस्ताबेजमा उल्लेख गरिएको छ।

‘राजनीतिक दलहरूले केही पनि गरेनन्, देशमा केही हुँदै भएन, राजनीतिक दलका नेता सबै खराब र उस्तै हुन्, जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने सबैभन्दा सर्वोच्च संस्था संसद्समेत औचित्यहीन भयो,’ मुलुकमा भइरहेका टिप्पणीबारे स्पष्ट पार्दै दस्ताबेजमा भनिएको छ।

कमजोरीहरूमाथि टेकेर संविधान र व्यवस्थालाई कमजोर बनाउने प्रयाससमेत भइरहेको पोखरेलको दस्ताबेजमा उल्लेख छ। ‘हाम्रो संविधान र व्यवस्था भत्काएर नेपालको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रिय एकता र स्वाभिमानलाई कमजोर बनाउन एउटा अतिवाद सक्रिय छ। यो विचार हाम्रो राष्ट्र, संविधान र व्यवस्थाविरोधी अतिवाद हो,’ पोखरेलको दस्ताबेजमा भनिएको छ, ‘हामीले राम्रो गरिरहेका थियौँ। हाम्रा आर्थिक परिसूचकहरू क्रमशः सुधारको बाटोमा थिए। भौतिक संरचनाहरू धमाधम बन्दै थिए। तीनै तहमा आवधिक निर्वाचन भइरहेका थिए। जे भइरहेका थिए, सब ठिकठाक थिए। जे गरिरहेका थियौँ, गजब गरिरहेका थियौँ,’ सो प्रतिवेदनमा उल्लेख छ। दस्ताबेजअनुसार आज जे भयो त्यो हाम्रो कारणले नभई देशी–विदेशी प्रतिक्रियावादीहरूको षड्यन्त्रका कारण भयो भन्ने टिप्पणीसमेत भइरहेको छ। 

‘आजको अवस्थासँग हाम्रा सीमा, कमजोरी र असफलताको कुनै सम्बन्ध नदेख्नु अर्को अतिवाद हो। वर्तमान अवस्था र इतिहासको वस्तुनिष्ठ समीक्षा नगरी भविष्यको मार्गचित्र निर्माण सम्भव छैन। कमरेड लेनिनले भनेजस्तो सब ठिक छ भन्ने अतिवाद स्थिरता नभई पतनको सुरुआत हो। यो विचार हाम्रो सुन्दर भविष्यको बाधक र अवरोधक हो,’ पोखरेलको दस्ताबेजमा उल्लेख छ। पोखरेलले दस्ताबेजमार्फत दुवै खाले अतिवादी विश्लेषणबाट मुक्त हुनु जरुरी भएको दाबी गरेका छन्। ‘२३ र २४ भदौका घटनाको अलगअलग ढंगले वस्तुगत तथा तथ्यपरक ढंगले निष्पक्ष छानबिन गरी दोषीउपर कानुनी कारबाही गरिनुपर्छ,’ दस्ताबेजमा भनिएको छ।

यस्ता छन् फरक मत
– जेनजी विद्रोह र विध्वंसबारे आएका दुई अतिवादी विचारमाथि छानबिन हुनुपर्ने
– केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद हटाउनुपर्ने
– एमालेका गतिविधि सडकबाट नियन्त्रण गर्ने प्रयास रोकिनुपर्ने
– शान्तिसुरक्षा कायम गर्दै निर्वाचनको वातावरण बनाउनुपर्ने
– सुरक्षा निकायको मनोबल उकास्न आवश्यक लजिस्टिकको प्रबन्ध गर्नुपर्ने
– दल र सरकारबिचको सम्बन्धमा सुधार ल्याउनुपर्ने
– भयरहित वातावरणमा निर्वाचन हुने सुनिश्चितता गर्नुपर्ने
– संसद् पुन:स्थापना भए जेनजीसहितको सरकार बनाउनुपर्ने

पोखरेलले दस्ताबेजमा साढे दुई सय वर्षको आधुनिक इतिहासमा नेपाली समाजले यस प्रकारको संकटको सामना गर्नु नपरेको बताइएको छ। ‘सहिष्णुता, एकता, सद्भावको हिसाबले गौरवमय मूल्य र मानकहरू स्थापित थिए। तर २४ भदौमा हामीले निर्माण गरेका हाम्रा सांस्कृतिक मूल्यहरूको चीरहरण गरियो,’ दस्ताबेजमा भनिएको छ, ‘गोली लागेर ज्यान गुमाएका नवयुवाहरूको वर्ग आधार हेर्दा पनि छर्लङ्ग हुन्छ कि सहर निम्न आयस्रोत भएका र बेरोजगारीले सताइएका मानिसहरूले भरिएको छ। निम्न मध्यम वर्ग र श्रमिक वर्ग यस्ता विद्रोहको अग्रपंक्तिमा देखिएका छन्।’

पोखरेलको टोली यतिबेला चुनावको पक्षमा देखिएको छ। शान्तिसुरक्षा कायम गर्दै निर्वाचनको वातावरण बनाउनुपर्ने र भयरहित वातावरणमा चुनाव हुने कुराको सुनिश्चितता गर्नुपर्ने विषयमा पनि पोखरेलको दस्ताबेज बोलेको छ। सुरक्षा निकायको मनोबल उकास्न आवश्यक लजिस्टिकको प्रबन्ध गर्ने विषय पनि पोखरेलको दस्ताबेजमा समेटिएको छ। राजनीतिक दल र सरकारबिच सम्बन्ध सुधार गर्नुपर्नेमा पनि जोड दिइएको छ।

‘कुनै विशिष्ट परिस्थितिमा संसद्को निर्वाचन हुन नसकेको अवस्थामा राजनीतिक बाध्यताका कारणले पनि प्रतिनिधिसभा पुनर्स्थापनातिर जानुपर्ने हुन्छ। यसरी पुनर्स्थापनामा जाँदा त्यस्तो पुनर्स्थापित संसद्ले आवश्यक परे सरकार निर्माणसम्बन्धी संविधानको धारा ७६ मा संशोधन गरी जेनजीसमेतको सहभागितामा सर्वदलीय सरकार बनाउने, सुशासन कायम गर्ने र भ्रष्टाचार अन्त्य गर्ने सम्बन्धमा थप कानुनी र संरचनागत व्यवस्था गर्ने, अन्य कतिपय विषयमा सहमतिका आधारमा संविधान संशोधन गरी छिटोभन्दा छिटो निर्वाचनमा जाने कुराको सुनिश्चितता गर्नुपर्छ। 

भदौ २४ गतेपछिको संक्रमणकाललाई छिटो अन्त्य गरी संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियालाई पुन:स्थापित गर्दै नेपाललाई दिगो शान्तिमा रूपान्तरण गर्न संविधान पक्षधर सबै राजनीतिक शक्तिका बिचमा सहकार्यको आवश्यकता छ। यसका लागि हाम्रो पार्टी सबै राजनीतिक दल, नागरिक समाजलगायत सम्बद्ध सबैलाई हार्दिक आह्वान गर्छ,’ पोखरेल दस्ताबेजले भनेको छ।

त्यसैगरी दस्ताबेजले ओलीमाथि लगाइएको स्थान हद हटाउनुपर्ने माग गरेको छ। एमालेका गतिविधि सडकबाट नियन्त्रण गर्ने प्रयास भइरहेकाले त्यस्ता गतिविधि रोकिनुपर्नेमा पनि दस्ताबेजले जोड दिएको छ।

प्रकाशित: २३ मंसिर २०८२ ०६:४४ मंगलबार