राजनीति

मिडिया हाउसभित्र पत्रकार रहेकै अवस्थामा आगो लगाउनु 'सीधा ज्यान मार्ने प्रयास' थियो : तनुजा पाण्डे

'भदौ २४ गते देशभर योजनाबद्ध रूपमा संगठित आपराधिक गतिविधि भयो'

जेनजी अभियन्ता तनुजा पाण्डेले गत भदौ २३ गतेको आन्दोलनपछि भदौ २४ गते देशभर योजनाबद्ध रूपमा संगठित आपराधिक गतिविधि भएको बताएकी छन्।

सामाजिक सञ्जालमार्फत पाण्डेले भदौ २४ गतेलाई ‘देशै जलाएको कालो दिन’का रूपमा चित्रण गरेकी छन्। उनले सुदूरपश्चिमदेखि पूर्वसम्म एउटै शैली र उस्तै साधन प्रयोग गरेर देशव्यापी रूपमा ठूलो क्षति पुर्याइएको भन्दै यस्तो स्तरको विनाश दीर्घकालीन योजना र समन्वयबिना सम्भव नहुने बताएकी हुन्। 

सर्वसाधारणका निजी घर तथा सम्पत्तिदेखि व्यावसायिक प्रतिष्ठानसम्म उस्तै ढङ्गले आगजनी गरिएको र घरभित्र मानिसहरू रहेको जानकारी हुँदाहुँदै निजी घरमा आगजनी गर्नु तथा मिडिया हाउसभित्र पत्रकारहरू रहेकै अवस्थामा आगो लगाउनु ‘सीधा ज्यान मार्ने प्रयास’ भएको उनको भनाइ छ।  

आन्दोलनको नाममा नेताका श्रीमती तथा छोरीहरूलाई बलात्कारको धम्की दिने र हातपात गर्नेहरू वास्तविक आन्दोलनकारी हुन नसक्ने पाण्डेले बताएकी छन्। त्यस्ता गतिविधिमा संलग्नलाई उनले ‘अपराधी’को संज्ञा दिएकी छन्।

त्यसैगरी भाटभटेनी, हिल्टन, हयात, वर्णवासलगायत निजी व्यवसाय तथा प्रतिष्ठानमा आगजनी र लुटपाट गर्नेहरू विशुद्ध विध्वंसकारी र लुटेरा भएको बताएकी छिन्। 

आन्दोलनको बहानामा जनताले आफ्नो पसिना र करबाट निर्माण गरेको राज्यको सार्वजनिक सम्पत्ति जलाउनेहरू राज्यविरुद्धको अपराधमा संलग्न भएको उनको भनाइ छ। 

पाण्डेले भदौ २३ पछिको घटनालाई भदौ २४ मा भएको विध्वंससँग जोडेर सामान्य रूपमा मात्रै नहेर्न आग्रह गरेकी छन्। एक–दुई ठाउँमा ढुङ्गा हानाहान भएको भए त्यसलाई जनताको आक्रोशका रूपमा बुझ्न सकिने भए पनि ठूलो स्रोत–साधन प्रयोग गरी योजनाबद्ध रूपमा भएको गतिविधिलाई ‘जनआक्रोश’को नाम दिनु गलत हुने उनले बताएकी छन्। 

उनले भदौ २४ को विध्वंसमा देश जलाएको आरोपमा सरकारले करिब दुई हजार युवालाई अझै कैदी बनाएर राखेको बताएकी छिन्। साथै अर्कोतर्फ ‘सरकार ढाल्यौँ, अब देश युवाको भयो’ भन्दै खुसी मनाउने र सोही विध्वंसको जगमा उदाएका नेताहरू भने अहिले निर्धक्क सरकारमा भएको उनको भनाइ छ।   

प्रकाशित: २४ भाद्र २०८३ ११:०९ बुधबार