राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङजस्ता सक्षम र लोकप्रिय व्यक्तित्वहरूलाई पार्टीमा जोड्ने बताएका छन्।
वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नयाँ र स्थापित सक्षम पात्रहरू एक ठाउँमा आउने क्रम सुरु भएको बताएका हुन्।
उनले भने, ‘काठमाडौंका मेयर हुनुहुन्छ बालेन शाह, कुलमान घिसिङ, डा. सिके राउत, गोपी हमालजस्ता पात्रहरू र नेपाली राजकाजमा स्थापित भइसकेका अन्य पात्रहरू पनि यहाँ जोडिँदै हुनुहुन्छ। यो सबै सकारात्मक छ।’
वाग्लेले यो ध्रुवीकरणलाई ‘नयाँ अनुहार भर्सेस पुराना अनुहार’ को लडाइँको संज्ञा दिँदै रास्वपा यसको केन्द्र बन्ने बताए।
पार्टी सभापति रवि लामिछानेविरुद्धको मुद्दालाई ‘अति राजनीतिक अभियोजन’ को संज्ञा दिँदै वाग्लेले यसैको विरोधमा सुरु गरिएको हस्ताक्षर अभियानमा व्यापक जनसमर्थन प्राप्त भएको बताए। यद्यपि, मुद्दा अदालतमा विचाराधीन रहेकाले न्यायिक प्रक्रियामा कुनै हस्तक्षेप नगर्ने उनले स्पष्ट पारे।
हस्ताक्षर अभियानले अदालतलाई प्रभावित पार्न खोजेको भन्ने आलोचनाको खण्डन गर्दै उनले भने, ‘यो हस्ताक्षर अदालतमा बुझाउने होइन, हाम्रो रेकर्डमा बस्छ। यो एउटा जनमत हो।’ उनले थपे, ‘सडकको अभिमतले हाम्रा न्यायाधीशहरूको न्याय सम्पादन प्रभावित हुन्छ भन्ने हो भने त्यो हाम्रो समग्र न्याय प्रणालीमाथिको शंका हो।’
वाग्लेका अनुसार अभियानमा प्राप्त समर्थनले ठूला दलहरूले समानुपातिकमा पाएको मतलाई समेत उछिन्न लागेको छ, जसले गर्दा पुराना शक्तिहरूमा डर पैदा भएको छ। ‘डर मान्नुपर्नेहरूले डर मान्दा हुन्छ,’ उनले भने।
अभियानमा कलाकार मनिषा कोइराला जस्ता प्रतिष्ठित व्यक्तित्वहरूले समेत ऐक्यबद्धता जनाएको उल्लेख गर्दै उनले यसको सांकेतिक महत्त्व ठूलो रहेको बताए।
वाग्लेले नयाँ शक्तिहरू एक-अर्कालाई सहयोग गर्दै अघि बढ्ने सकारात्मक माहौल बनेको र यसले नेपाली जनतामा आशा जगाएको बताए।
प्रकाशित: १ श्रावण २०८२ १६:२२ बिहीबार