राजनीति

जनताले हावामा भोट हालेको हुरीबतास रहेछ भन्ने बुझिसके : दाहाल

नेकपाका संयोजक पुष्पकमल दाहालले जनताले अहिलेको सरकार हुरीबतास मात्र हो भनेर बुझिसकेको टिप्पणी गरेका छन्।

महोत्तरीको बर्दिबासमा पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले यस्तो बताएका हुन्।

वर्तमान सरकार लोकतान्त्रिक सरकारजस्तो लाग्छ कि लाग्दैन भन्ने प्रश्नमा दाहालले यसलाई आम जनताले महसुस गरिसकेको बताए।

उनले भने,‘त्यो आम जनताले महसुस गर्ने कुरा हो। जनताले महसुस गर्दै पनि गएका छन्। बौद्धिक समुदाय त अब स्पष्ट भइसकेको छ। नेपालका सबै पार्टीसँग सम्बन्धित बौद्धिक समुदायले कुरा बुझिसकेका छन्।’

गाउँगाउँका जनतालाई अझै बुझाउन बाँकी रहेको बताउँदै उनले भने,‘ हावामा भोट हालेको, हुरीबतास मात्रै रहेछ भन्ने कुरा उनीहरूले बुझिसकेका छन्। तर गाउँगाउँका जनतालाई बुझाउन अझै बाँकी छ। त्यो काम हामीले गर्नुपर्छ।’

यस्तै, दाहालले पत्रकारको पक्षमा आफूहरूले निरन्तर आवाज उठाइरहेको बताए।

उनले भने,‘हामी बोलिराखेकै छौँ नि। सबैभन्दा पहिले पत्रकारको तर्फबाट प्रेस सेन्टरको तर्फबाट वक्तव्य निकालेर त्यसको विरोध गर्ने हामी नै हौँ। पत्रकार महासंघले माइतीघर मण्डलामा नाराबाजी गर्दा पनि हामीले नै पहल गरेका हौँ।’

यस्तै, विभिन्न दलबीच सरकार निर्माणका विषयमा सहमति र सहकार्यको चर्चा भइरहेको सन्दर्भमा दाहालले एमालेमा पुनः समाहित हुने सम्भावनाबारे तत्कालै निष्कर्ष निकाल्न नसकिने बताए। 

प्रकाशित: १६ कार्तिक २०८३ १३:१० सोमबार