राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई सत्ताको दम्भ नदेखाउन र जनताको अपेक्षाअनुसार जिम्मेवार व्यवहार गर्न आग्रह गरेका छन्।
चितवन पुगेर पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले रास्वपाले सरकारलाई खबरदारी गर्दा पार्टीभित्र फुट र विवाद सुरु भएको भन्दै प्रचार गरिनु निरर्थक रहेको बताए। पार्टीले गलत कुरामा सरकारलाई घच्घच्याउनु विद्रोह, विग्रह वा फुट नभई पार्टीको प्रतिबद्धता भएको उनको भनाइ छ।
‘यस्तो कुरामा पार्टीले सरकारलाई कहिलेकाहीँ घच्घच्याउँदा लौ बर्बाद भयो, यिनीहरू फुट्न थाले, उसलाई यसो भन्न थाले, उसो भन्न थाले भनेर दुई वटा फोटो टाँसेर केही गर्नेवाला छैन,’ उनले भने, ‘रास्वपा भनिरहन्छ, रवि लामिछाने भनिरहन्छ। डराएर होइन, कराएर भनिरहन्छ।’
लामिछानेले लोकतन्त्र कुनै एक व्यक्ति वा पार्टीको प्रयासबाट प्राप्त नभएको उल्लेख गर्दै यसको अवमूल्यन गर्ने अधिकार कसैलाई नभएको बताए। लोकतन्त्र, स्वतन्त्र प्रेस, मानवअधिकार, अदालत तथा संस्थागत संरचना लामो संघर्ष र बलिदानबाट प्राप्त भएको उनको भनाइ थियो।
‘घन्टी बजाउँदै हिँड्दै, रवि दाइ हाइहाइ भन्दै प्राप्त भएका होइनन्। मान्छे मरेका छन्, रगत बगाएका छन्। त्यसको मूल्य ठूलो छ,’ उनले भने, ‘त्यसको अवमूल्यन र अपमान गर्ने अधिकार हामी कसैलाई पनि छैन।’
उनले लोकतन्त्रभन्दा आफ्नो लागि ठूलो कुरा केही नभएको स्पष्ट पार्दै लोकतान्त्रिक मूल्य र मान्यताप्रति पार्टी प्रतिबद्ध रहनुपर्ने बताए। सरकारको आलोचना वा खबरदारीलाई सरकारविरोधी गतिविधिका रूपमा नबुझ्न पनि उनले आग्रह गरे।
लामिछानेले सरकारले जनताको अपेक्षा बुझ्नुपर्ने र आफ्ना व्यवहार तथा गतिविधिको समीक्षा गर्नुपर्ने बताए। समाजले देखाएको कमजोरी स्वीकार गर्नुको सट्टा आलोचना गर्नेहरूलाई आक्रमण गर्ने प्रवृत्ति राजनीतिक चरित्र नभएको उनको टिप्पणी थियो।
‘समाजले हामीलाई ऐना देखाएको छ, ऐनाले हाम्रो अनुहार देखाएको छ। आफ्नो अनुहार देखाएपछि ऐना देखाउनेतिर झम्टिने त्यो राजनीतिक चरित्र होइन,’ उनले भने, ‘अब हामीले त्यो राजनीतिक चरित्रबाट माथि उठ्नुपर्नेछ।’
प्रतिनिधिसभामा १८२ सिट प्राप्त गरेपछि पार्टीका नेता तथा कार्यकर्तामा दम्भ बढेको भन्दै उनले त्यसप्रति असन्तुष्टि जनाए। जनताले दिएको ठूलो मतलाई ठालु पल्टिन नभई अझ बढी सेवा गर्न प्राप्त अवसरका रूपमा बुझ्नुपर्ने उनको भनाइ थियो।
‘जनताले १८२ सिट दिए, हाम्रो भुइँमा खुट्टा छैन, मातिएका छौँ, टुप्पिएका छौँ। हामीले मान्छेलाई मान्छे गनेका छैनौँ,’ उनले भने, ‘जनताले अत्यधिक मत दिएर पठाएको हामीलाई ठालु पल्टाउनका लागि होइन, अझ बढी सेवा गर भन्नका लागि हो।’
उनले विगतमा रास्वपाका नेता तथा कार्यकर्ताले राजनीतिक प्रतिशोध र प्रशासनिक दुःख भोग्नुपरेको स्मरण गर्दै अहिले सत्तामा पुगेपछि त्यही व्यवहार अरूमाथि दोहोर्याउन नहुने बताए।
विगतमा पार्टीसँग आबद्ध भएकै कारण कतिपयका व्यवसायमा अनुगमनको नाममा दुःख दिने, मुद्दा लगाउने र पसल बन्द गराउने काम भएको उल्लेख गर्दै उनले अहिले पार्टीको नाममा प्रहरी तथा प्रशासनमाथि राजनीतिक दबाब दिनु गलत हुने बताए।
‘म घण्टीको मान्छे हुँ, म रास्वपाको मान्छे हुँ भन्दै प्रशासन र प्रहरीलाई राजनीतिक दबाब दिने काम गर्यौँ भने त्यो चरित्रले हामीलाई धेरै पर लैजाँदैन,’ उनले भने।
लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई सत्ताको शक्ति र पदको दम्भ त्याग्न आग्रह गर्दै आफूहरू यही समाज र जमिनबाट आएको कुरा बिर्सन नहुने बताए। प्रहरी, प्रमुख जिल्ला अधिकारी र प्रशासनिक निकाय आफ्नै नियन्त्रणमा रहेको ठान्ने प्रवृत्ति त्याग्नुपर्ने उनको भनाइ थियो।
उनले पार्टीभित्र बढ्न सक्ने ईर्ष्या र विभेदप्रति पनि सचेत गराए। संघर्षका सहयात्री सांसद तथा अन्य जिम्मेवारीमा पुग्दा पुराना साथीले ईर्ष्या गर्ने र पदमा पुगेका नेताले तल्लो तहका कार्यकर्तालाई बेवास्ता गर्ने दुवै प्रवृत्ति गलत रहेको उनले बताए।
‘सँगै संघर्ष गरेका साथी हेर्दाहेर्दै माननीय भए भन्दैमा हामीभित्र आरिस पैदा हुनु हुँदैन। फेरि माननीय भएका साथीले तलका मान्छेलाई देख्दै नदेखेजस्तो गर्नु पनि हुँदैन,’ उनले भने।
प्रकाशित: २० कार्तिक २०८३ १६:२२ शुक्रबार