राजनीति

पार्टी एकताको पक्षमा छैनन् जनार्दन, बैठकबाट बाहिरिए

नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले पार्टी एकताका नाममा भइरहेको वर्तमान प्रक्रियाले माओवादी आन्दोलनको पहिचान मेटिने बताएका छन्। यसले पार्टीलाई विघटन र वैचारिक विचलनतर्फ लैजाने उनको भनाइ थियो।

पार्टी एकताको विषयमा छलफल गर्न शनिबार पेरिसडाँडामा बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा आफ्नो असहमति राख्दै उनी बैठकबाट बाहिरिए थिए।

बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता शर्माले भने, ‘यो पार्टी शहीद, बेपत्ता र घाइते योद्धाहरूको त्याग र बलिदानको जगमा उभिएको हो। तर अहिले उहाँहरूको सपना र आन्दोलनको विचारलाई नै भत्काउने गरी एकताको प्रयास भइरहेको छ। यसले माओवादी आन्दोलनको पहिचान मेटिन्छ।’

उनले नेतृत्वले महाधिवेशनमार्फत विधि र प्रक्रियासम्मत ढंगले अघि बढ्नुको साटो मनोनीत गरेर आफ्नो वरिपरि ‘सुरक्षा घेरा’ बनाउन खोजेको आरोप लगाए।

‘नेतृत्व हस्तान्तरण र महाधिवेशनमार्फत पार्टीलाई नयाँ ढंगले अघि बढाउने कुरालाई पूर्णतः अस्वीकार गर्दै फेरि पनि मनोनीत गरेर आफ्नो स्वार्थ पूरा गर्ने जुन प्रयत्न भइरहेको छ, यसले पार्टीलाई अगाडि बढाउन सक्दैन,’ शर्माले भने।

उनले यो तरिकाको एकताले पार्टीलाई वैचारिक विचलन र विघटनतर्फ लैजाने निश्चित भएकोले आफूले बैठकमा असहमति राखेर बाहिरिएको स्पष्ट पारे।

नेता शर्माले समग्र कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न बृहत् अभियान चलाउनुपर्नेमा जोड दिए।

‘आम रूपमा समग्र कम्युनिस्ट र समाजवादी आन्दोलनलाई एकीकृत गर्ने गरी अभियान चलाएमा केही महिनाभित्रै नयाँ निष्कर्षमा पुग्न सकिन्छ, अहिले त्यो सम्भावना छ,’ उनले भने, ‘तर यो तरिकाको एकता हामीलाई स्वीकार्य छैन।’

प्रकाशित: १५ कार्तिक २०८२ १७:२८ शनिबार